भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी।

भैरहवा:= रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानस्थलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुधबार सडक मार्ग हुँदै काठमाडांैबाट भैरहवा आएका प्राविधिकहरूले काम सुरु गरेका छन् । उनीहरू क्यालिब्रेसन फ्लाइट गरेर मात्र स्वदेश फर्कनेछन् । सञ्चालनको पर्खाइमा रहेको विमानस्थल दुई चरणमा आइसिबी १ र आइसिबी २ को काम सम्पन्न गरेकोे छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ मा शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवकोे आयोजना अबको एक महिनामा क्यालिब्रेसन उडान गरी परीक्षण उडानको लागि तयार हुने आयोजनाले जानकारी दिएको छ । प्राविधिक टोली आएसँगै क्यालिब्रेसन उडान अबको दुई तीन सातामै हुने विमानस्थलको दाबी छ ।

टोलीले नै प्रविधिक काम एक महिनामा सक्ने गरी काम गरेर मात्रै फर्कने र प्रशासनिक तर्फको काम पनि माघमै सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । ‘एरो थाई कम्पनीका प्रविधिकहरू आइपुगेका छन् । अष्ट्रियाको प्रविधिकले नागरिक उडड्यनका १० जनालाई रोडियोसम्बन्धी तालिम दिइरहेका छन् । विमानस्थलमा हाल दर्जनभन्दा बढी चिनियाँ टोली र अन्य पाँचजना विदेशी दक्ष कामदारले क्यालिब्रेसनको पूर्व–तयारीसम्बन्धी काम गरिरहेका छन् । सबै काम पूरा भइसकेको छ । हाम्रो जोड नै क्यालिब्रेसन गरेर परीक्षण उडान गर्नेमा छ,’ आयोजना प्रमुख अधिकारीले भन्नुभयो ।

विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदानका लागि चहिने सबै दक्ष प्रविधिक जनशक्ति आएकाले अबको केही दिनमा नै क्यालिब्रेशन फ्लाइटको मिति तय हुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माण गरेको हो ।

विमानस्थल भौतिक रूपमा सञ्चालन योग्य भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका लागि १२औँ तहको अधिकृत महाप्रबन्धकको रूपमा पठाएको छ । २ माघबाट प्राधिकरणले गोविन्दप्रसाद दाहाललाई व्यवस्थापनको जिम्मा दिएको छ । महाप्रबन्धक दाहालले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । निर्माणाधीन विमानस्थल सञ्चालनका लागि प्रशासकीयतर्फ १५१ जना र सेवा प्रदायकतर्फ १०३ जना जनशक्ति आवश्यक हुन्छ । ‘हाल ३४ प्रशासकीयतर्फ छौँ तत्काल नै सञ्चालनमा आए र चाप बढ्दै गयो भने जनशक्ति पनि विस्तारै बढाउँदै जानुपर्छ । मेट्रोलोजीतर्फ १५-१६ जना कर्मचारी आएर काम गरिरहेका छन्, सुरक्षातर्फ पनि करिब ३०० जना आवश्यक हुन्छ । त्यस्तै भन्सार, अध्यागमन, क्वारेन्टाइन, टेलिकम, राजस्व लगायतका लागि पनि ठाउँ छुट्याइएको छ । जनशक्ति व्यवस्थापनसँगै पूर्वाधार र फर्निसिङको काम भइरहेको छ,’ महाप्रबन्धक दाहालले भन्नुभयो ।