सिड्नी:= पाँचौं वरीयताका स्पेनिस टेनिस खेलाडी राफाल नाडाल अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । मेलवर्न पार्कमा मंगलबार भएको क्वार्टरफाइनलमा नाडालले क्यानाडाका डेनिस सापालोभलाई तीन/दुईको सेटमा हराएर अन्तिम चारमा स्थान पक्का गर्नुभएको हो ।
१४औँ वरीयताका डेनिसमाथि नाडालले ६-३, ६-४, ४-६, ३-६ र ६-३ को जित प्राप्त गर्नुभयो । नाडाल सातौँपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गर्नुभएको हो । सन् २०१९ पछि उहाँ पहिलोपटक अस्ट्रेलियन ओपनको अन्तिम चारमा पुग्नुभएको हो ।
२१औँ ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहनुभएका ३५ वर्षीय नाडाल सेमिफाइनलमा पुग्ने एकमात्रै पूर्वच्याम्पियन हुनुहुन्छ । उहाँले २००९ मा स्वीस रोजर फेडेररलाई हराएर पहिलोपटक अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । त्यसयता उहाँले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गर्नुभएको थियो । तर, उपाधि भने जित्न सक्नुभएन ।




















