फलोअप समाचार : भारतले नेपाली भूमि मिचेको प्रकरण।

दुवै देशका सुरक्षाकर्मी पुगे घटनास्थल, भोगचलन गर्न दिनेदेखि माथिल्लो निकायमा पत्राचार गर्ने मौखिक सहमति

[ पार्थ मण्डल ] 

झापा:= दक्षिणी झापाको कचनकवल गाउँपालिका-५ स्थित पाठामारी बासिन्दाको जग्गा धनीपुर्जा भएको नेपाली भूमि भारतले मिचेको विषयमा स्थानीय प्रहरी, प्रशासनसँगै भारतीय सुरक्षाकर्मीले समेत घटनाप्रति गम्भीरतापूर्वक चासो देखाएको छ ।

हिमालय टाइम्समा माघ ३ गते ‘हातमा नेपाली धनीपुर्जा, जमिन भारत’ मा शीर्षकमा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएको दुई दिनपछि बुधबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियन कम्पनीका संयुक्त टोलीले सीमा विवाद देखिएको जग्गाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भक्तबहादुर थापा, बिओपी पाठामारीका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) दिलीप श्रेष्ठ, प्रहरी चौकी पाठामारी प्रहरी सहायक निरीक्षक भरत कोइराला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) १९ बटालियनका एसी (डिएसपी) जयप्रकाश सिंह र पीडित जग्गाधनीसहित टोलीले विवादित जग्गाको निरीक्षण गरेका थिए ।

जग्गा निरीक्षण गर्दै एसएसबीले जिपिएसबाट नेपाल-भारतको अन्तर्राष्ट्रिय सीमाको रेखांकन हेरेका थिए । जिपिएसले हाल नेपाली भूमिमा गाडिएको सीमा पिलर नदेखाएको उपस्थिति जग्गाधनीहरू बताउँछन् । नेपाली भूमिमा गाडिएको ११२/९ देखि ११२/१३ सम्मको सीमा पिलर शंकास्पद देखिएकाले घटनास्थलमै दुवै देशका सुरक्षाकर्मीबीच मौखिक भद्र सहमति भएको छ ।

हाल जोतभोग गर्दै आएको जमिनमा नेपाली कृषकले नै खेतीपाती गर्ने, त्यस जमिनमा आएर एसएसबीले अवरोध नगर्ने र पुनः सीमा सर्वेका लागि दुवै देशका सुरक्षाकर्मीले माथिल्लो निकायमा लिखित पत्राचार गरेर विवादित जग्गाको टुंगो लगाउने विषयमा एक प्रकारको मौखिक सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी

उपरीक्षक (एसपी) प्रदीपजंग कार्कीले जानकारी दिनुभयो । एसपी कार्कीले सो जग्गाको मंगलबार नै स्थलगत निरीक्षण गर्नुभएको थियो । उहाँले सो विवादित जग्गाको विषयमा जिल्लास्तरीय सुरक्षा निकायको बैठकमा राख्ने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सीमा जोडिएको नेपाली भूमि बारेमा सञ्चारमाध्यमबाट समाचार बाहिरिएपछि जिल्लास्तरीय प्रहरी, प्रशासन र भारतीय एसएसबीले छुट्टाछुटै रूपमा चासो देखाएर घटनास्थल पुगेको बताइएको छ ।

कचनकवल-५ पाठामारी निवासी सहदेवसिंह राजवंशी र उहाँका भाइ गोविन्द राजवंशीका आमा फागनी राजवंशीको नाममा रहेको एक बिघा चार कठ्ठा, मुनालाल गणेशको बुबा वेंगा गणेशको नाममा रहेको १५ कठ्ठा, कुसुमलाल गणेशको नाम रहेको १० कठ्ठा, हरिलाल यादवको एक बिघा आठ कठ्ठा, श्यामवती देवी यादवको दुई कठ्ठा गरी करिब ६ बिघा सात कठ्ठा जमिन भारतले खेतमै पिलर गाडेर कब्जा गरिसकेको उहाँहरू बताउनुहुन्छ ।

पुरानो दशगजाको बाटो त्यतिकै छ । त्यहाँ कुनै खेतीपाती लगाइएको छैन । त्यो बाटो नै अन्तर्राष्ट्रिय सीमा छुट्याउने मुख्य बिन्दु हो । त्यहाँबाट अहिले पनि गाउँवासी आउजाउ गरिरहेका छन् । तर, दशगजादेखि करिब ३०० मिटरभित्र करिब पाँच वर्षअघि खेतमै लगेर सीमा पिलर गाडेर हामीमाथि राज्यबाट दमन भएको उनीहरूको गुनासो छ । ११२/७ देखि ११२/१४ सम्मको सिधा रेखाकंन मात्र गुगल म्यापले अन्तर्राष्ट्रिय सीमा छुट्याएको देखिन्छ । त्यसबाहेकको पिलर सबै शंकास्पद छ ।

Source : himalayatimes