अब सुर्खेतबाटै डिजिटल राहदानी बनाउन मिल्ने।

सुर्खेत:= जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गर्नुभएको हो ।

उहाँले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरेर उक्त सेवाको प्रारम्भ गर्नुभएको छ ।

उक्त कार्यक्रममा प्रजिअ रिजालले भन्नुभयो, ‘सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ । यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै गएको छ ।’

उहाँका अनुसार १० दिनमा ११८ राहदानी बनेका छन् । हस्तलिखित, एमआरपी हुँदै अहिले डिजिटल राहदानी आइपुग्दा यसले सेवाग्राहीलाई अझ बढी सफल बनाएको बताउनु भयो ।

राष्ट्रिय परिचय पत्र भरेकाले राहदानी शाखामा रुजु गरेर लाग्ने शुल्क  पाँच हजार रुपैयाँ तिरेपछि राहदानी प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। यसले गर्दा राहदानीका लागि काठमाडौंमा पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ ।