काठमाडौं:= आँट र हौसला भए कुनै पनि कुरा सम्भव छ भन्ने उदाहरण राजधानीको पुतलीसडकमा देखिएको छ । पुतलीसडकस्थित काठमाडौं प्लाजा अगाडि व्यस्त सडकको छेउमा रहेको खाली जग्गामा थुप्रिएको फोहोरको डंगुरलाई हटाएर त्यहाँका स्थानीयले ढुंगेधारा निर्माण गरेका छन् । जसको परम्परागत नाम ‘तुरतुरे धारा’ हो ।
भावनात्मक व्यक्तित्वहरू जुटेपछि सम्पदा संरक्षणमा विलम्ब नहुने तथ्य यही तुरतुरे धारालाई हेरे पुग्छ । वर्षौं पहिले सार्वजनिक धारा रहेको त्यस ठाउँमा पछिल्लो पुस्ताले फोहोर फाल्न थालेपछि त्यहाँ फोहोर थुप्रिएर सानोतिनो घरजत्रै बनेको थियो । सम्पदा अभियन्ताको भावना मिलेपछि फोहोरको डुंगुर हटाएर अहिले त्यस ठाउँमा तुरतुरे धाराको पुनर्निर्माण भएको हो ।
पुनर्निर्मित उक्त धारा छेउमै रहेको निर्वाणा आर्ट ग्यालरीका प्रमुख बेखराम बलामी श्रेष्ठका अनुसार त्यस ठाउँमा यसअघि सानोतिनो दुई तले घरजत्रै फोहोरको थुप्रो थियो । सुरुमा उहाँ प्लाजा मार्ग हुँदै गन्तव्यतर्फ जाँदै गर्दा व्यस्त सडकको छेउको खाली जग्गामा फोहोरको थुप्रो र सँगै टाँसिएको घरमा खाली सटर देख्नुभयो । र, उहाँले सो फोहोर सफा गरेर त्यहाँको संरचनालाई उजागर गर्ने सोच्नु भयो । त्यसपछि सो सटर भाडामा लिई अब्स्ट्रयाक आर्ट सेन्टर सञ्चालन गर्नुको साथै वर्षौं पहिले छोपिएर अस्तित्व नै हराएको ढुंगेधारा रहेको उक्त ठाउँको फोहोर हटाउने पहलमा लागि पर्नुभयो ।
ठीक त्यसैबेला काठमाडौं महानगरपालिका–२८ का स्थानीय युवा सरोकार मञ्चका वीरेन्द्र महर्जनको समूहले पनि धोवीधारालगायत अन्य धारा पुनर्निर्माणको थालनी गरिरहेका थिए । दुवै सम्पदा प्रेमीहरूको भावना मिलेपछि एक आना एक पैसा एकदाम जग्गामा रहेको त्यस ठाउँमा तुरतुरे धाराको पुनर्निर्माण भएको हो । झण्डै अतिक्रमणमा परिसकेको ढुंगेधारा आफूले अमेरिकाबाट फर्किएलगत्तै अभियानकै रूपमा संरक्षणमा लागेको महर्जन बताउनुहुन्छ ।
बेखराम भन्नुहुन्छ, ‘यहाँ पहिला एक जमानामा सानो तुरतुर धारा थियो रे । र, हामीले सिसा, गमला, प्लाष्टिकलगायत अनेक किसिमका फोहोरको थुप्रो महानगरपालिकालाई भनेर फाल्न लगाएका हौँ । फोहोर सफा गरिसकेपछि स्थानीयवासीले भनेअनुसार मैले ढुंगे धाराको नक्सा कोरिदिए र त्यसैअनुसार यो धारा निर्माण गरिएको हो ।’
त्यस ठाउँमा आकासे पानी संकलन गरी ढुंगेधाराबाट पानी झार्ने काम गरिरहेको बेला अर्का सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थले ढुंगेधारामा गोदाम बनाउन थालेको भन्ने सुनेको भन्दै दलबलसहित रोक्न आउनुभयो । अन्ततः सो समूह त्यहाँ ढुंगेधारा बन्न लागेको देखेर ढुंगा खोज्दा देवता मिलेजस्तो भएको भनेर हौसियो । दलबलसहित आएको कायस्थको समूहलाई स्मरण गर्दै युवा सरोकार मञ्चका संयोजक वीरेन्द्र महर्जन भन्नुहुन्छ, ‘अभियन्ता कायस्थलाई पनि सत्यतथ्य बताएपछि उहाँको समेत सहभागितामा यो ढुंगेधारा पुनर्निर्माण गरेका हौँ ।’
सम्पदा अतिक्रमण गरी निजी सम्पत्ति बढाउनेहरूको जमातलाई प्रतिवाद गर्दै उदाउनुभएका यादवलाल कायस्थ जस्ता अभियन्ता यस देशलाई आवश्यक भएको भन्दै संयोजक महर्जनले उपत्यकाका प्रत्येक सम्पदाको संरक्षणमा जनस्तरबाटै अभियन्ता कलाकार बेखराम बलामीको जस्तै साथ सहयोग र भरोसा चाहिने बताउनुभयो ।
यसबाट हौसिनुभएका वडाध्यक्ष भाइराम खड्गीको पहलमा महानगरपालिकाबाट आवश्यक बजेट जुटेपछि कोरोना लकडाउनभित्र वडाका अन्य ढुंगेधारासमेत संरक्षण हुन सफल भएको बताइन्छ ।




















