जनकपुरधाम:= प्रदेश नम्बर. २ ले नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ पाएको छ । प्रदेश २ प्रदेशसभाको सोमवार बसेको आठौ अधिवेशनको आठौं बैठकमा सभाको कुल १ सय ४ सांसद मध्ये उपस्थित ९९ जनाबाट नामांकरणतर्फ मधेश प्रदेशको पक्षमा ८० जनाले मतदान गरि दुई तिहाई भन्दा बढी मतले मधेश प्रदेश पारित भएको छ ।
मधेश आन्दोलन र जनविद्रोह, मधेशी शहिदको सपना क्षेत्रफलमा नभएपनि नाम र पहिचानको हिसावले आज सार्थक भएको हो । नेपाली कांग्रेस, नेकपा एस र एमालेका पनि १६ सांसदहरु पनि मधेशको मर्मलाई बुझेर मधेशको पक्षमा मतदान गरेपछि मधेश प्रदेश सार्थक र सफल भएको मधेश केन्द्रित दलका सांसदहरुको भनाइ छ । जसपा र लोसपाले मधेशको पक्षमा मतदान गरेको सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
मधेश प्रदेश पारित भएसंगै बाँकी तीन प्रस्तावहरु स्वतः खारेज भएको सभामुख सरोज कुमार यादवले घोषणा गर्नुभएको हो । यस अघि भएको राजधानीको प्रस्ताव तर्फको मतविभाजनमा जनकपुरधामको पक्षमा ७८ र बिगंजको पक्षमा २१ मत खसेको थियो । राजधानी तर्फ पनि कुल ९९ मत खसेको थियो । प्रदेशसभाको बैठक अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित भएको छ ।




















