तनहुँ:= तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानी, हटियामा शुक्रबार राति जिप दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै आठजना घाइते भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकाको घुमाउनेबाट बन्दीपुर जाँदै गरेको ग१ज ६५५५ नम्बरको बोलेरो जिप शुक्रबार साँझ ८ बजे दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने आठजना घाइते भएका हुन् । प्रहरीका अनुसार जिप अनियन्त्रित भई धरमपानीस्थित हटियाको भिरबाट १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा बन्दीपुर गाउँपालिका-६ निवासीहरू ५० वर्षीया बिमाया गुरुङ, उहाँको छोरा २४ वर्षीय रोशन गुरुङ, यस्तै नौ महिने बालक आरुवी थापा, २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने र न्यौपानेको श्रीमती ४८ वर्षीय सुशिलादेवी न्यौपाने, सोही ठाउँकी ५० वर्षीया बिमाया गुरुङ र ४८ वर्षीय सन्तबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रमुख प्रहरी निरीक्षक विकास अधिकारीले जानकारी दिनुभयो । चारजनाको घटनास्थलमै मृत्यु भएको हो भने दुईजनाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
बन्दीपुर गाउँपालिका–हुस्लाङकोट बस्ने वर्ष ४८ की ममकुली गुरुङ, सोही ठाउँकी वर्ष २२ की कुमारी गुरुङ, सोही वडाको भाक्से बस्ने वर्ष १६ की सनिसा थापा, सोही ठाउँकी सात महिनाकी बिबिसा थापा, सोही ठाउँ निवासी वर्ष १८ को कुमार थापा, वर्ष २० को दानबहादुर थापा, वर्ष २१ को विपिन थापा गरी आठजना घाइतेको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचार चितवनस्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिपका चालक ४८ वर्षीय आनन्द गुरुङ फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । जिपमा क्षमताभन्दा धेरै यात्रु भएको पाइएको प्रहरीले बताएको छ । शवलाई दमौली अस्पतालमा पोष्टमार्टम गरी शनिबार आफन्तजनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
माघे संक्रान्तिको बेलामा भएको दुर्घटनाले धरमपानी गाउँ पीडामा र पूरै गाउँपालिका शोकमा डुबेको छ । दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुने सबै बन्दीपुर गाउँपालिका-६ का बासिन्दा रहेका छन् । बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताउनुभयो ।
‘चाडपर्वका बेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिंगो पालिका शोकमा डुबेको छ,’ उहाँले भन्नुभयो । अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गुडेको जिप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट ब्याक भएर खसेको थियो । जिपको स्टार्ट बन्द भएर पुनःस्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जिप दुर्घटना भएको घाइतेको भनाइ उद्धृत गर्दै अध्यक्ष थापाले बताउनुभयो ।




















