रोजगारीका लागि भारत गएकाहरू कोरोनाको डरले धमाधम घर फर्किंदै।

महेन्द्रनगर:= अछामको ढकारीका पल्या दमाईं रोजगारीका लागि गत मंसिरमा भारतको देहरादुन जानुभएको थियो । घरको आर्थिक समस्या र परिवारका आवश्यकता पूरा गर्न भारत पुग्नुभएका दमाईं बुधबार पश्चिमी सीमा नाका गड्डाचौकीमा भेटिनुभयो । काँधमा सानो कपडाको झोला भिरेर कोरोना परीक्षणका लागि नाकामा लाइनमा उभिनुभएका दमाईंले भारतमा कोरोना संक्रमण बढिरहेको र ‘लकडाउन’ हुने हल्ला भएको सुन्दा काम छोडेर घर फर्र्किएको बताउनुभयो ।

‘अहिले भारतमा नयाँ किसिमको कोरोना देखिन लागेको छ ।’ दमाईंले भन्नुभयो ‘र अझ लकडाउन हुन्या हल्ला छ । पोहोर साल (गत वर्ष) पनि हाम्रा गाउँका धेरै लकडाउनमा फसेर दुःख पाएका थिए । त्यही कोरोना र लकडाउनमा फसौला भनेर भारत गएको एक महिनामै काम छाडेर फर्कियौँ ।’ बाजुराका मनोज रोकाया पनि धन कमाउन भारत गएको पाँच महिना मात्र भएको थियो । ‘धन कमाउन दिल्ली पाँच महिना अगाडि गएको थिएँ ।’ रोकायाले भन्नुभयो, ‘तर के गर्ने अझ यो कोरोना भारतमा धेरै बढ्यो । दिल्लीमा दुई÷तीन दिन लकडाउन पनि भयो, अझ हुने हल्ला सुनेर डरले घर फर्किएँ ।’

मुगुकी रूपा विक पनि बुधबार नाकामा भेटिनुभयो । भारतमा लेवरको काम गरेर घरपरिवार धान्नुभएकी विक पनि कोरोनाका त्रासले स्वदेश फर्किनुभयो । ‘अहिल इण्डियामा कोरोना रोग धेरै फैलिएको छ ।’ उहाँले भन्नुभयो, ‘त्यसैले यहाँ रोगले मर्नुभन्दा जे खाए पनि गाउँघरमै खाएर बसौला भनेर छोडेर घर फर्किएँ ।’ यस्तै, अछामका शिवराज साउद पनि भारत गएको धेरै समय भएको छैन । गत वर्ष लकडाउनका कारण भारतमै फसेको र बल्लतल्ल स्वदेश घर पुगेको सम्झँदै अहिले समयमै घर फर्किएको उहाँले सुनाउनुभयो । ‘गत वर्ष म र मेरा साथीहरू भारतमै लकडाउनमा फसेका थियौँ ।’ साउदले भन्नुभयो ‘अहिले पनि आगो जस्तै भारतमा कोरोना फैलिरहेको छ र लकडाउन हुने भन्ने खबर सुनेर डरले घर फर्किएको हँु ।’

समुदायमा फैलिने जोखिम 

कञ्चनपुरका सीमा नाकाबाट मात्रै पछिल्ला पाँच दिनमा झण्डै आठ हजार नेपाली स्वदेश फर्किएका छन् । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली त्यहाँ कोरोना भाइरसको तेस्रो भेरियन्ट संक्रमण बढिरहेकोले ज्यान जोगाउन स्वदेश फर्किन थालेका छन् । पछिल्लो समय भारतबाट स्वदेश फर्किनेहरूको संख्या ह्वातै बढेको गड्डाचौकी हेल्थ डेक्स इञ्चार्ज तर्कराज भट्टले बताउनुभयो । ‘भारतमा कोरोना संक्रमण बढेकाले अहिले त्यहाँबाट नेपाल फर्किनेहरूको संख्या ह्वातै बढेको छ ।’ भट्टले भन्नुभयो, ‘गड्डाचौकी नाकाबाट पछिल्ला पाँच दिनमा मात्रै चार हजार ११४ जना नेपाली स्वदेश फर्किएका छन् ।’ उहाँले अगाडि थप्नुभयो तीमध्ये ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’

यस्तै, जिल्लाको त्रिनगर नाकाबाट पनि पछिल्ला पाँच दिनमा तीन हजार ६७४ जना स्वदेश फर्र्किएको त्रिनगर हेल्थ डेक्स इन्चार्ज गणेश साउदले बताउनुभयो । ‘अहिले यो नाकामा नेपाल फर्किनेहरूको संख्या बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो, ‘पाँच दिनमा तीन हजार ६७४ जना स्वदेश फर्किकामध्ये ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ उहाँले अगाडि थप्नुभयो, ‘भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको र लकडाउन हुने डरमा त्यहाँका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।’ नाकामा स्वदेश फर्किने सबैको कोरोना परीक्षण गरिए पनि कोरोना समुदायमा फैलिने जोखिम भने रहेको भट्टले बताउनुभयो । ‘नाकामा सबैको कोरोना परीक्षण भए पनि संक्रमितहरू भाग्ने तथा होम आइसोलेसनमा राख्दा समुदायमा कोरोना संक्रमणको जोखिम बढेको छ ।’

होल्डिङ सेन्टर निर्माणको काम अधुरै, संक्रमित व्यवस्थापनमा चुनौती

पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड-१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सयजनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरू पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।

कञ्चनपुरसँग सीमा जोडिएको नाका भएर आउने संक्रमितहरूलाई व्यवस्थापन गर्नका लागि महेन्द्रनगरमा एक हजार बेडकोे होल्डिङ सेन्टर निर्माण भइरहेको छ । तर, नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ । नेपाली सेनाबाट होल्डिङ सेन्टर निर्माणका लागि २९ करोड २४ लाख रुपैयाँमा ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले बजेट अभावका कारणले काम लम्बिएको बताउनुभयो । ‘नेपाली सेनासँग ६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएर हामीले होल्डिङ सेन्टर निर्माणको काम अगाडि बढाएका थियौँ तर समयमै बजेट नपाउँदा समस्या भइरहेको छ,’ सापकोटाले भन्नुभयो, ‘अझै बजेट प्राप्त नभएकोले थप समय लाग्न सक्छ ।’ उनका अनुसार अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ । ‘अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’

उहाँले भन्नुभयो, ‘कोरोना बढिरहेकोले एक/दुई दिनमा ५०० बेड पूर्णरूपमा तयार गरी हस्तान्तरण गर्न हामी सक्छौँ । तर, बाँकी बजेट प्राप्त नभए समय लाग्नेछ ।’ नेपाली सेनाले समयमै बजेट दिएमा ढिलाइ नहुने दाबी निर्माण व्यवसायीको छ । होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएपछि कोरोना संक्रमितको व्यवस्थापनमा चुनौती थपिएको छ । महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेकोले व्यवस्थापनमा समस्या रहेको बताउनुभयो । ‘महाकाली अस्पतालमा ५० बेडको क्षमता छ ।’ उहाँले भन्नुभयो ‘यहाँ दैनिक ७०÷८० जना संक्रमित आउँछन् । र, यहाँबाट केही संक्रमित भाग्नेपनि गरेका छन् । होल्डिङ सेन्टर भएको भए सहज हुने थियो ।’ होल्डिङ सेन्टर निर्माणमा भइरहेको ढिलाइले संक्रमितहरू धमाधम गाउँ पठाइन थालेपछि समुदायस्तरमा ओमिक्रोन फैलिने जोखिम बढेको छ ।