स्पेनिस ला लिगा: स्पान्योललाई इल्चेको धक्का।

म्याड्रिड:= स्पेनिस ला लिगाको मध्यम टोली स्पान्योललाई रेलिगेसन जोगाउन प्रयासरत इल्चेको नमिठो धक्का लागेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पान्योल इल्चेसँग २–१ गोलले पराजित भयो।

इल्चेको जितमा दुवै गोल पेरे मिल्लाले गर्नुभयो । स्पान्योलका राउल डे टोमसले सान्त्वना गोल फर्काउनुभएको थियो । सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा इल्चेले छैटौँ मिनेटमा खाता खोल्नुभएको थियो । पेरे मिल्लाले टेले मोरेन्टेको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । पेरेले १४औँ मिनेटमा जोहन मोजिकाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै इल्चेको अग्रता दोब्बर बनाउनुभयो।

इल्चेको लगातार गोलपछि जोसिएको स्पान्योलले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत् गोल फर्काएको थियो । डि बक्सभित्र इल्चेका गोन्जालो भर्डुले फल खेलेपछि प्राप्त पेनाल्टीलार्ई राउल डे टोमसले सदुपयोग गर्नुभयो।

५३ प्रतिशत बल पोसेसनमा राखेको इल्चेले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । स्पान्योलले दोस्रो हाफमा राम्रा अवसर बनाए पनि गोल गर्न नसक्दा हार खेप्यो । इल्चेका पेरे मिल्ला ‘म्यान अफ दि म्याच’ हुनुभयो।

जितसँगै इल्चेले रेलिगेसन रेखा छलेको छ । १६औँ स्थानमा उक्लिएको इल्चेको २० खेलबाट १९ अंक छ । समान खेलबाट २६ अंक बनाएको स्पान्योल ११औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४४ र तेस्रो स्थानमा रहेको रियल बेटिसको ३४ अंक रहेको छ।