संविधानलाई ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ छैन: नेपाल।

‘केपी ओलीको गुट कसैको फैसलालाई मान्ने पक्षमा देखिएन’

काठमाडौं:= नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध पारिरहेको बताउनुभएको छ । अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने तर अहिले सर्वोच्च अदालतको फैसलाविपरीत गएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनुभएको हो ।

आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणासभामा बोल्दै उहाँले केपी ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको दाबीसमेत गर्नुभयो । ‘संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्वीप उल्लंघन लाग्दैन । ह्वीप उल्लंघन गरेको ठहरिँदैन । अदालतले गरेको आदेशमा लेखिएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्क गर्नुभयो । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘जुन व्यक्तिले विधि, विधानलाई मान्दैन । संविधानको प्रावधानलाई स्वीकार गर्दैन । कानुनी शासनको मान्यतालाई अंगीकार गर्दैन ।

अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधीन मुद्दाहरूमाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसद्मा । ती विषय संसद्मा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । ठुल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ-जो चोर उसैको ठूलो स्वर ।’ अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई उठान गरेर संसद् अवरुद्ध पार्न नपाउने पनि बताउनुभयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको भन्दै विरोधीहरूमा छटपटाहट आएको नेपालले जिकिर गर्नुभयो ।