काठमाडौं := साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग पराजय भोगेको छ । बंगलादेशको ढाकामा आइतबार भएको खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको हो । भारतको जितमा एकमात्र निर्णायक गोल पी नावरेमले गर्नुभयो ।
उहाँले खेलको ६७औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्यकता रहेको थियो । तर, पराजित भएसँगै नेपालले अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ ।
अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नतिजा पर्खनुपर्नेछ । बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नतिजा निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ ।
यता नेपालमाथि जित निकाल्दै भारत भने प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अंक जोडेको छ । यता नेपालले चारमध्ये दुईमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्दै जम्मा सात अंक जोडेको छ । आयोजक बंगलादेशको सात अंक छ र उसले एउटा खेल खेल्न बाँकी छ ।




















