जसको नेतृत्वमा सुरु भयो पूर्वमा ‘रेन्बो ट्राउट’ माछापालन।

[ चिसाङ् शेर्पा ] 

खोटाङ:=”पूर्वमा २०६९ सालअघि ‘रेन्बो ट्राउट’ माछा पाल्नुपर्छ, अनि आर्थिक आर्जनमा टेवा पुर्‍याउँछ भन्ने कसैको दिमागमा थिएन । जब खोटाङमा रेन्बो ट्राउट माछापालनको परीक्षण सफल भयो तब रेन्बो ट्राउट माछाको व्यावसायिक पालन सुरुवात भयो । तब, सबैले ‘रेन्बो ट्राउट’को बारेमा बुझ्न चाहे ।

डाक्टर आशकुमार राईको नेतृत्वमा जिल्लामा मात्रै नभई पूर्वमै पहिलोपटक खोटाङको सोल्मा तालखर्कमा ‘रेन्बो ट्राउट’ माछापालनको सुरुवात भएको इतिहास पाइन्छ । राईको अगुवाइमा सगरमाथा अक्वा एग्रो प्रालिले तालखर्कमा ‘रेन्बो ट्राउट’को व्यावसायिक पालन सुरु गरेको हो । अहिले पूर्वमा रेन्बो ट्राउट माछापालनको श्रेय राईलाई जाने गरेको यसका जानकारहरू बताउँछन् ।

तत्कालीन समयमा राईको नेतृत्वमा प्रालिमार्फत त्यहाँ ट्राउट माछापालन भए पनि समयान्तरमा शुभद्रा-मदन फाउण्डेसनको मातहतमा रहेको प्रवन्ध निर्देशक सूर्य राईले बताउनुभयो । तालखर्कमा ट्राउट माछापालन सक्सेसफुल भयो, सुरुमा व्यावसायिक थियो । अहिले फाउण्डेसनको मातहतमा सिकाइकेन्द्र र प्रयोगशाला भएको छ ।

राईले भन्नुभयो, ‘यहीको सिको गरेर जिल्लाका विभिन्न स्थान र अन्य जिल्लामा व्यावसायिक रूपमा ट्राउट माछापालनको सुरु भइसकेको छ ।’ माछापालनका लागि तालखर्कमा आठवटा पोखरीमध्ये अहिले चारवटा पोखरीमा भुरा, दुईवटा पोखरीमा ठूला ट्राउट माछा छन् । अन्य दुईमा ग्रेडिङ गरेर राखिनेछ । उत्पादन भएको माछा फाउण्डेसनमा आउने पाहुना र भित्रनै खपत हँुदै आएको छ । २४ सै घण्टा बगिरहने चिसो पानीमा उत्पादन हुने ट्राउट माछालाई ज्यादै पौष्टिक मानिन्छ ।

तालखर्कको माछापालनलाई पूर्वको मत्स्यपालन जगतमा गुरुको रूपमा लिने गरिएको छ । जिल्लालगायत अन्य जिल्लामा ट्राउट माछा पाल्नका लागि सुरुवातमा बाहिरबाट भुरा ल्याउने र त्यसपछि यही ग्रेडिङ (प्रजनन) गरेर भुरा उत्पादन गरिँदै आइएको छ । माछाका लागि चारो (दाना) भने खरिद गरेर बाहिरबाट ल्याइने गरेको फाउण्डेसनका प्रवन्ध निर्देशक राईले बताउनुभयो ।

तालखर्कमा ट्राउट माछापालनको सफलता मिलेपछि पूर्वका विभिन्न जिल्लामा पनि यसको व्यावसायिक पालन सुरु भएको छ । सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, इलाम र जिल्लाको हौचुर, जालपा, खिदिमामा व्यावसायिक माछापालन सुरु भएको छ । प्रतिकेजी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म माछाको भाउ रहेको छ ।

उच्च पहाडी भेगको स्वच्छ र सफा पानीमा पाल्ने सकिने ‘रेन्बो ट्राउट’को व्यावसायिक पालनको सम्भावना एकदमै राम्रो रहेको व्यावसायिक रूपमा ‘रेन्बो ट्राउट’ माछापालन गर्दै आएका सोल्मा तालखर्कका श्रवण राईले बताउनुभयो । ट्राउट माछाको बजार माग अत्यधिक रहेको राईको भनाइ छ ।