नेपाल लाइफ समुन्नत जीवन बिमा।

काठमाडौं:= नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बिमा योजना ल्याउने क्रममा पछिल्लोपटक यस्तो योजना ल्याएको हो ।

विकास निर्माणका काममा जोखिम पनि बढी रहेको हुन्छ । जोखिमयुक्त पेशा जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिलाई लक्षित गर्दै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बिमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बिमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले यस्तो योजना ल्याएको जनाएको छ ।

योजनाको मुख्य आकर्षण बिमा अवधिभित्र बिमितको दुर्घटनाका कारण मृत्यु भएमा बिमांक रकमको तेब्बर र आर्जित बोनस बिमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्ने रहेको छ । यस्तो बिमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले पाँच वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बिमा लिन सक्नेछन् ।

त्यस्तै १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बिमाशुल्क तिरेर बिमांक रकम बराबर वा अधिकतम ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने बताइएको छ । यस्तो बिमालेखको बिमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ ।  ५० हजारदेखि एक करोडसम्मको बिमांक रकमको बिमा गर्न सकिने पनि कम्पनीले जनाएको छ ।