लुम्बिनीका १२ जिल्ला, थारु संस्कृति लगायत १२ साँस्कृतिक ग्रामहरु निर्माण हुने।

[ विवेक खड्का ] 

दाङ:= लुम्बिनी प्रदेशका १२ जिल्लामा जिल्लाको साँस्कृतिक परिचय र विशेषताका आधारमा साँस्कृतिक ग्रामहरू निर्माण हुने भएका छन् । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयको विशेष योजनाअन्तर्गत १२ जिल्लाका १२ स्थानमा साँस्कृतिक ग्रामहरू निर्माण गर्न लागिएको हो ।

जाति, भाषा, धर्म, संस्कृति, खानपान, रितिरिवाज, परम्पराका आधारमा त्यसको विकास र चिनारीका लागि ग्रामहरू निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ । ‘संस्कृति बचाउ र व्यवसाय गर’ भन्ने नीति प्रदेशले लिएको र त्यहिअनुसार साँस्कृतिक ग्रामहरू निर्माण गर्न लागेको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो।

‘एक जिल्ला एक साँस्कृतिक ग्राम’ भनेर मन्त्रालयले योजना अघि सारेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले आफूसँग भएको कल्चरलाई व्यवस्थापन गरेर व्यवसायिक रूपमा लैजाने उद्देश्यले प्रदेशमा साँस्कृतिक ग्रामहरू जिल्लाअनुसार निर्माण गर्न लागिएको जानकारी दिनुभयो। संस्कृतिलाई बचाउने परम्परालाई चिनाउने गरी काम हुने उहाँको भनाइ छ ।

प्रदेशमा भएको जातीगत विशेषता, धार्मिक विशेषता, साँस्कृतिक र परम्परागत विशेषतालाई संस्थागत गर्दै संरक्षण तथा विकास गर्न र त्यसबाट आयआर्जन बढाउन साँस्कृतिक ग्राम निर्माण गर्न लागिएको मन्त्री चौधरीको भनाइ छ । उहाँले यसबाट यो वर्षमा पाँच हजार युवा, महिलालाई साँस्कृतिक रोजगार दिने प्रदेश सरकारको योजना रहेको र सोहिअनुसार काम पनि अघि बढेको बताउनुभयो ।

मन्त्री चौधरीले दाङ, बाँके, बर्दियामा थारू संस्कृतिसँग जोडिएका ग्रामहरू निर्माण हुने, प्यूठान, अर्घाखाँची र गुल्मी, क्षेत्री बाहुन (खसआर्य) संस्कृति, परम्परा र रितिरिवाजसँग जोडिएका ग्रामहरू निर्माण गरिने बताउनुभयो । पाल्पा, रूकुम, रोल्पामा मगर ग्राम, रूपन्देहीमा बहुसाँस्कृतिक ग्राम, कपिलवस्तु अवध साँस्कृतिक ग्राम र नवलपरासीमा भोजपुरी साँस्कृतिक ग्राम निर्माण हुने छन् ।

पहिलो चरणमा छवटा साँस्कृतिक ग्रामहरू निर्माण गरिने योजना रहेको मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँले जिल्ला र स्थान छनोटको प्रक्रियामा रहेको र त्यसका लागि एक ग्राम निर्माणका लागि ६५ लाख देखि १ करोडसम्मको बजेट विनियोजन भइसकेको बताउनुभयो ।

उहाँले पहिलो चरणमा ६ साँस्कृतिक ग्राम निर्माण भएपनि भाषा, संस्कृति, परम्परा, रितिरिवाज, खानपानको प्रवद्र्धन विकासका लागि समेत थप बजेट व्यवस्थापन गरेर मन्त्रालय अघि बढेको न्यौपाने बताउनुभयो । प्रदेशको चिनारीसँगै क्षेत्रको पहिचान र पर्यटकीय विकासका लागि प्रदेशमा यो नमुना काम भएको भन्दै यसका आमनागरिकको सहभागिता महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

सरोकारवालासँग अन्तरक्रिया

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले प्रदेशका सरोकारवालासँग साँस्कृतिक ग्रामका विषयमा अन्तरक्रिया तथा कार्ययोजनासम्बन्धी छलफल गरेको छ । दाङको चखौरामा सोमबार १२ जिल्लामा प्रतिनिधिहरूसँग साँस्कृतिक ग्रामका विषयमा छलफल गरेको हो । सो अवसरमा अवधारणपत्र समेत सार्वजनिक गरिएको थियो । मन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव महेशचन्द्र न्यौपानेले साँस्कृतिक ग्रामको बारेमा जानकारी गराउनुभयो ।