पुल अलपत्र पारेर ठेकेदार फरार भन्दै युवाहरूको खबरदारी।

[ युवराज पौडेल ] 

स्याङ्जा:= स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका-५ र वडा नं ६ जोड्ने गरी सेतीदोभानअन्तर्गत आँधीखोलामा निर्माणाधीन आँधीखोला सेतीदोभान पुल (सडक मोटरेबल पुल) अलपत्र पारेर ठेकेदार हराएको भन्दै स्थानीय युवाले सामाजिक सञ्जाल तताएका छन् । उनीहरूले ठेकेदार हराएको सूचना भन्दै खोजीका लागि सबैसँग अपिल पनि जारी गरेका छन् ।

युथ अफ आँधीखोलाका युवाहरूले सात वर्ष पूरा हुँदा पनि पुल बन्न नसकेपछि खबरदारी गरेका हुन् । उनीहरूले मूल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) र सहायक ठेकेदार ऋषिराम गौतमको फोटोसहित ‘ठेकेदार हराएको सूचना’ जारी गरेका छन् । सूचनामा उल्लेख भएअनुसार तामाङ नेपाली कांग्रेस रामेछापका नेता हुनुहुन्छ भने गौतम नेकपा एमाले कास्कीका नेता हुनुहुन्छ ।

आँधीखोला पुल सेतीदोभान स्याङ्जाको ठेक्काको सम्झौता २०७१/६/२६ मा भएको थियो । सम्झौताअनुसार दुई वर्षभित्रमा काम सम्पन्न गर्नुपर्नेमा सात वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । पछि २०७८/३/२६ सम्म म्याद थपिए पनि थपिएको समयमा समेत उल्लेख्य काम हुन नसकी पुल अलपत्र अवस्थामा परेको स्थानीयको गुनासो छ ।

पुलको ठेक्का सम्झौता रकम दुई करोड ८९ लाख ६९६ रुपैयाँ ६० पैसा रहेको छ । यस पुलको ठेक्का निर्माण व्यवसायी कान्छाराम अशेष जेबी कास्कीले लिएको थियो । पुलको हालसम्मको वित्तीय प्रगति ५० प्रतिशत छ भने भौतिक प्रगति ६५ प्रतिशत मात्र रहेको छ ।

स्थानीय युथ अफ आँधीखालाका युवाहरूले विगत सात वर्षदेखि सेतीदोभानमा पुल अलपत्र पारेर ठेकेदार हराइरहेको भन्दै सूचना जारी गरेका हुन् । उनीहरूले कतै देखिए वा भेटिए युथ अफ आँधीखोलामा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् । युथ अफ आँधीखोलाका अध्यक्ष हरि ढकालले पुल अलपत्र पारेर जनताको विकास निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई कारबाही हुनुपर्ने र जनतालाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पुलले आँधीखोलाको मात्र होइन समग्र देशको तस्बिर बोलेको छ ।’

यो पुल दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे मानिने सिरुबारी गाउँ जोड्ने मोटरेबल पुल हो । सिरुबारी होमस्टेकी अभियन्ता तथा नवयुवा क्लब सिरुबारीकी सचिव उर्मिला गुरुङले सुरु–सुरुमा पुलको निरीक्षण तथा अनुगमन गर्ने र फोटा खिचाउने नेताज्यूहरू सात वर्षसम्म पुल अलपत्र परेर बस्दा एक शब्द पनि बोल्न नसक्नु आश्चर्यको विषय रहेको बताउनुभयो ।