काठमाडौं:= वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनु भएको राजेन्द्र प्रसाद लिङ्देनको बाल्यकाल भने झापामा बित्यो । उहाँको बाल्यकाल झापाको हल्दिबारी गाउँपालिकामा वित्यो । लिङ्देनको परिवार बुवाको जागिरको सिलसिलामा ०३२ सालमा झापा बसाइँसरेको हो ।
राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा ०३६ सालमा आवद्ध हुनु भएको लिङ्देनको राजनीति जीवन त्यहीबाट सुरु भएको उहाँ आफैँ स्वीकार्नु हुन्छ । झापा गोलधापका राजेन्द्र पछि निर्माण भएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष समेत हुनु हो ।
बि.स. २०४३ सालमा एसएलसी उत्रिर्ण गनुृभएको लिङदेनको पारिवारिक पृष्ठभुमि भने अत्यन्त साधारण छ। ०४६ को परिवर्तनपछि गठित राप्रपा राष्ट्रिय राजनीतिमा कमजोर थियो । तर उहाँ आफ्नो गाउँ गोलधापमा भने लोकप्रिय हुनुहुन्थ्यो । लिङदेन ०४७ मा राप्रपाको झापा पार्टी सचिव हुनु भएको थियो।
२०४८ र २०५४ दुवै समयका स्थानीय निर्वाचनमा लिङ्देन राप्रपाको तर्फबाट गोलधाप गाविस वडा नं. ३ मा लगातार वडाअध्यक्ष पदमा विजयी हुनु भएको थियो । राजा ज्ञानेन्द्रले सत्ता हात लिएपछि जिविस सभापतिसमेत बन्नुभएको लिङदेन त्यस बखतको लोकप्रिय कामका कारण झापामा ख्याती समेत कमाउनु भएको थियो ।
उहाँले गत आम निर्वाचनमा झापाको ३ नम्बर क्षेत्रबाट नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएको पूर्वमहामन्त्री तथा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको थियो । वि.सं. २०७४ को नेपालको आम निर्वाचनमा उहाँ ४४,६१४ (५६.५२%) मत ल्याएर निर्वाचित हुनु भएको हो ।
०६६ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य बन्नुभएको उहाँ ०७० मा राप्रपाको महामन्त्री हुनुभयो ।राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्नुभएको लिङदेन हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री हुनु हो भने सो पार्टीबाट एक मात्र संघीय संसद सदस्य समेत हुनु हो । झापामा अन्य पार्टीमा समेत चर्चा कमाउनु भएको राजेन्द्र लिङ्देन स्थानीय रुपमा लोकप्रिय हुनुहुन्छ ।
लिम्बु परिवारमा जन्मिनु भएको लिङदेन नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा दृढ रहनु चानचुने कुरा होइन भन्दै जनजातिइतर र अन्य पार्टी समर्थक पनि उहाँको चर्चा गर्छन। आदिवासी समुदायको भएर पनि उहाँलाई जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिन्छ । जातिय आरक्षणमा बाहुन भएकै कारण दुर्गम र गरिव परिवार राज्यबाट ठगिएको उहाँ बताउनु हुन्छ ।
जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिनु भएको लिङदेन साधारण जीवनशैली, प्रष्ट बक्ता, राष्ट्रिय स्वतन्त्रता, अखन्डताका लागि अडिक देखिनु हुन्छ । लिङ्देन राजसंस्था र हिन्दुराष्ट्रको उपस्थितिमा यो देशको एकता मजबुत हुन्छ देशको सार्वभौमिकता सुरक्षित रहने बताउनु हुन्छ । सरकारको तीन तह आवश्यक नरहेको बताउने लिङ्देन स्थानीय सरकार मज्बुद बनाउनु पर्ने बताउनु हुन्छ ।
साथै लिङदेन देशको व्ययभार कम गर्न हाम्रो जस्तो गरिव मुलूकले स्थानीय सरकार र संघीय सरकारलाई मजबुत बनाएर प्रदेश सरकार विघटन गर्नुपर्ने मत राख्नु हुन्छ । मूलूकका निम्ति प्रदेश सरकार आवश्यकता नभएको उहाँको ठहर छ। २०७१ को राप्रपा पार्टी महाधिवेशनमा लिङ्देन केन्द्रिय सदस्यमा खुला तर्फ सर्वाधिक एघार सय भन्दा बढी मत पाएर विजयी बन्नु भएको थियो ।
राप्रपाको महाधिवेशनको लागि २०७८ मंसिर ९ मा लिङ्देनले अध्यक्षमा र धवल शम्शेर राणाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । राजेन्द्रले महामन्त्री धवलशमशेरसहितको प्यानल घोषणा गर्दै अहिलेको नेतृत्वबाट पार्टी नचल्ने बताउँदै आउनु भएको छ। राजेन्द्र लिङदेनले “अध्यक्षत्रय (कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी)बाट पार्टी नचल्ने बताउँदै अध्यक्षमा आफ्नो उम्मेदारी दिनु भएको छ ।
मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गर्नुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताउनु भयो ।

अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताउनु भयो । उहाँले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाउनुभयो ।
नेता लिङदेनले भन्नुभयो, ‘अहिले हामीले जुन उम्मेदवारी दिएका छौँ, यो मेरो कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उत्प्रेरित गरेर दिइएको उम्मेदवारी होइन, राष्ट्रिय प्रजातन्त्र पार्टी यो ३१ वर्षको इतिहासमा आज जुन अवस्थामा आइपुगेको छ, त्यसबाट पार्टीलाई अझै तल झर्न नदिनको लागि र पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्नको लागि हामीले एउटा अनिवार्य र बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तनलाई लिएका छौँ ।
यो नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दुको रुपमा लिएका छौँ । आगामि दिनमा नयाँ नेतृत्व स्थापित भइसकेपछि अग्रजहरुको सम्मान गर्दै उहाँहरुको भुमिकालाई जीवित राख्दै राप्रपा बाहिर रहेका राजतन्त्र चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने व्यक्ति, समूह, संघसंस्था, संगठन, पार्टीहरुलाई सबैलाई ६ महिनाभित्रमा एकीकृत गरेर राष्ट्रिय शक्तिको निर्माण गर्ने, त्योबाट सडक संघर्ष, आगामी निर्वाचनको तयारी गर्ने र राजसंस्था, हिन्दुराष्ट्र पुनः स्थापना सँगै देशभित्रै लाखौँ युवाहरुले गरिखाने वातावरणको निर्माण गर्ने भ्रष्टाचार मुक्त समाजको निर्माण गर्ने, राज्यले दिने सेवासुविधा जातलाई होइन, गरिबलाई दिने व्यवस्थाहरुको निर्माण गर्नेमा लाग्नेछौँ ।’
नेता लिङ्गदेनले आफू अध्यक्षमा विजयी भए पार्टीबाट गुटको अन्त्य गर्ने बताउँदै आउनु भएको छ । पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधि भित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।




















