नेपाली चलचित्र ‘मन्त्र’ माघ २८ बाट प्रदर्शनमा आउने।

काठमाडौं:= सौगात मल्ल, बुद्धि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को पोष्टरसहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । कोरोना महामारी र लक डाउनका कारण चलचित्र प्रदर्शनमा ढिलाइ भएको हो । चलचित्र आगामी माघ २८ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बनेको चलचित्रका वितरक गोविन्द शाही रहेका छन् । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको निर्माण पक्षले बताएको छ । करिब ५१ सय मिटरभन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्यामसम्म पुगेर निकै मिहिनेतका साथ चलचित्रको छायांकन गरिएको निर्देशक खिलबहादुर गुरुङले बताउनुभयो ।

सार्बजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामाङ, दिया पुनलाई स्थान दिइएको छ । चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको लचित्रका दृश्यहरूले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

गोरखा जिल्लाको चुम नुब्री सामा गाउँ, वीरेन्द्र ताल र पुंगिन गुम्बालगायत रमणीय दृश्यहरू कैद गरिएको छ । चलचित्र खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको हो । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पाको पनि मुख्य भूमिका छ । देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।