जोखिमका जनतालाई बास दिने गरी सरकारले काम गरिरहेको छ: मन्त्री रामकुमारी झाँक्री

काठमाडौं:= शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भएबमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरूमा एकीकृत बस्ती विकास कार्यक्रमहरू अगाडि सारिएको बताउनुभयो ।

बिहीबारबाट ललितपुरमा सुरु भएको आवास तथा बस्तीसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५औँ योजनामा प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताउनुभयो । राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनामा नेपालको दिगो विकासका लक्ष्यहरू र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको बताउनुभयो । चालु आर्थिक वर्षका कार्यक्रमहरूमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरू रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा अब प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले मानव बस्तीहरू जोखिममा पर्ने सम्भावना कम हुँदै गएको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणमा निजी घरहरूको पुनर्निर्माण लगभग सकिएको बताउनुभयो । पुनर्निर्माणपछि जनताको आवास सुरक्षित र व्यवस्थित बनेको उहाँको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणमा नेपालले गरेको काम र अनुभव विश्वलाई महत्वपूर्ण सिकाइ हुने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

गोष्ठीमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौती एवं नेपालले कार्यान्वयन गरेका कार्यहरूका बारेमा छलफल हुनेछ । सम्मेलनमा दीर्घकालीन पुनर्लाभसम्बन्धी छलफल गरिनेछ । सम्मेलनमा एसिया प्रशान्त क्षेत्रमा अवस्थित आवाससम्बन्धी कार्य गर्ने अध्येता एवं संघसंस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने लक्ष्य राखेको छ ।