पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र।

काठमाडौं:= संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्त रूपमा  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्र्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, विप्लवनिकट अखिल (क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालयसमेत सम्हाल्नुभएका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरूले भेटेरै ज्ञापनपत्र बुझाएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताउनुभयो । ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको सिंहले जानकारी दिनुभयो ।  पछिल्लोपटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरू आन्दोलन गर्दै आएका छन् ।