काठमाडौं:= नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लगातार भइरहेको इन्धनको मूल्यवृद्धि नगरिकका लागि अत्याचार भएको टिप्पणी गर्नुभएको छ । संयुक्त विद्यार्थी संगठनले आइतबार बुझाएको ज्ञापनपत्रग्रहण गर्दै अध्यक्ष नेपालले १२ दिनको अन्तरालमा खाना पकाउने ग्यासमा मात्रै १२५ रुपैयाँ बढ्नु अत्याचारै भएको बताउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्नेसमेत बताउनुभएको छ । उहाँले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिनेसमेत बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकारणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘समस्याको कारण पनि खोज्नुपर्यो समाधान पनि निकाल्नुपर्यो । यसको निमित्त सबैभन्दा पहिले सत्तामा बसेको पक्ष अर्थात् सरकार गम्भीर बन्नुपर्यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्ताधारी पार्टीहरूले त्यसमा चासो र सरोकार राख्नुपर्यो । यो हाम्रो दायित्वभित्र पनि पर्दछ । एउटा समस्या भनेको मन्त्रीको जिम्मेवारी नदिएर पनि बिग्रिएको छ । मन्त्री भइदियो भने हुन्छ । प्रधानमन्त्री आफैँले सबै कुराहरूलाई राम्रोसँग बुझ्न, समय दिन सक्दैनन् । त्यसको निम्ति हामीले भनिरहेका छौँ, अरू कोही नपाइए हामी छँदै छौँ नि मन्त्री दिने भनिरहेका छौँ । सुन्दैनन् । यसको पछाडि राजनीतिक कारण होला, जनतालाई पीडामा वेदनामा पुर्याएर कर वृद्धि गर्ने कुरा पनि हुन सक्दैन । बोर्डरमा भएका समस्यालाई समाधान गर्ने उपायहरू खोज्नु पर्दछ । जनतालाई रोजगारी प्रदान गर्ने बारेमा बृहत् योजनाको खाँचो छ ।’
नेता नेपालले युवा विद्यार्थीहरूले जनताको मर्मसँग जोडिएका विषयलाई शान्तिपूर्ण तरिकाले उठाएर राम्रो गरेको बताउनुभयो । यो समस्याको हल निकाल्न आफूले पनि प्रधानमन्त्रीसँग छलफल गर्ने बताउँदै उहाँले विद्यार्थी अभियान पनि जारी राख्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महँगो भइरहेकोमा अचम्म लागेको बताउनुभयो । उहाँले बाटोमा हुने चोरी र नोक्सानीको बारेमा हिसाबकिताब हुनुपर्नेसमेत बताउनुभयो । अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भए पनि जनतालाई मारमा पार्नु नहुने बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘रक्सौलबाट पाइपलाइन जोडिसकेपछि सस्तो हुनुपर्ने हो, मैले पनि बुजिरहेको छैन, किन महँगो भइरहेको छ, हिजो कति खर्च हुने गर्दथ्यो ? त्यसमा ढुवानी कष्टका कुरादेखि लिएर जति तेल भरिएको छ, त्यो यहाँ आउँदा बीचैमा चोरिने त्यसले हुने गरेको जुन नोक्सनी कति भएको छ, त्यो हिसाबकिताब हुन्छ कि हुँदैन ? यी सबै कुराहरूको बारेमा सम्बन्धित निकायमा म पनि बुझौँला । यसका निम्ति हामी पनि छलफल गर्नेछौँ । सरकारलाई भन्नेछौँ । सरकारले पनि बरु करको दायरा घटाउनुप¥यो । जनतासँग प्रत्यक्ष जोडिएका कुराहरूमा मारमा पार्नुभएन ।’
अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनलगायत पाँच विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाई मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।




















