शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको विजयी सुरुवात।

काठमाडौं:= शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार दुई खेल भएका छन् । शनिबार संकटा क्लब र हिमालयन शेर्पा कल्ब तथा थ्री स्टार र च्यासल युथ क्लबबीच फुटबल भएको थियो । लिगमा थ्री स्टारले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयनसँग एक÷एक गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो । पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । तर, खेलको ६०औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो  । सुवास गुरुङको क्रसमा हिमालयनका गोलकिपर दीप कार्कीले बल फुत्काएपछि पाएको बलमा रुचालले सहजै गोल गर्नुभएको थियो । योसँगै रुचाल यस वर्षको लिगमा गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ ।

खेलको ६४औँ मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै हिमालयनलाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो  । जीवन गुरुङको क्रसमा त्रिदेभले हेडमार्फत् टप कर्नरमा उत्कृष्ट गोल गर्नुभएको थियो । बराबरीबाट दुवै टोलीले नयाँ सिजनको सुरुवात गरेका छन् । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दी म्याच चुनिनुभयो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा ललितपुरको थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुवात गरेको छ । थ्री स्टारको जितमा निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक÷एक गोल गर्नुभयो । थ्री स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो ।

खेलको २२औँ मिनेटमा निशानले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । यान्निक केचाले सन्जोग राईलाई फउल गरेपछि थ्री स्टारले फ्रिकिकको मौका पाएको थियो । जसलाई निशानले सदुपयोग गर्नुभयो ।

खेलको २६औँ मिनेटमा च्यासलले पेनाल्टीमा गोल गर्न सकेन । उसका नेपाली मूलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार गर्दा थ्री स्टारका गोलकिपर प्रिसोले बचाउनुभयो । थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।

४४औँ मिनेटमा थ्री स्टारले २–० को अग्रता बनायो । हेमन्त थापा मगरको फ्रिकिकमा रिमले हेडमार्फत् गोल गर्नुभएको थियो । त्यसपछि खेलको ५८औँ मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३-० को जित दिलाउनुभयो । हेमन्त थापा मगरको फ्रिकिकमा अनन्तले हेडरमार्फत् गोल गर्नुभएको थियो ।

खेलको म्यान अफ दी म्याच थ्री स्टारका निशान खड्का चुनिनुभयो । लिगअन्तर्गत आइतबार पनि दुई खेलहरू हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।