क्रिकेटर डे भिलियर्सद्वारा खेलाडी जीवनबाट सन्यास।

प्रिटोरिया:= दक्षिण अफ्रिकी क्रिकेटर एबी डे भिलियर्सले खेलाडी जीवनबाट सन्यास लिनुभएको छ । सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहनुभएका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहनुुभएको थियो । ३७ वर्षीय उहाँ क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इण्डियन प्रिमियर लिग–आइपीएल खेल्दै आउनुभएको थियो ।

डे भिलियर्सले टेष्ट क्रिकेटमा ११४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित आठ हजार ७६५ रन बनाउनुभएको छ । यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २२८ खेल खेल्नुभएकामा २५ शतक र ५३ अर्धशतकसहित नौ हजार ५७७ रन बनाउनुभएको छ । टिट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाउनुभएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँको नाममा सबैभन्दा थोरै बेलमा अर्धशतक, शतक र १५० रन बनाउने खेलाडीको विश्व कीर्तिमान छ । उहाँ तीनपटक आईसिसी ओडीआई प्लेयर अफ दी इयर घोषित हुनुभएको थियो । उहाँलाई आइसिसीले पछिल्लो दशककै सर्वोत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड पनि दिएको थियो ।

डे भिलियर्सले दक्षिण अफ्रिकालाई सबै तीन स्वरूपको क्रिकेटमा कप्तानी गर्नुभएको थियो । मैदानका सबै दिशामा बल प्रहार गर्न सक्ने क्षमताका कारण उहाँ ‘मिस्टर ३६०’ उपनामलेसमेत परिचित हुनुहुन्थ्यो । यस्तै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफू सधैँ एबी डे भिलियर्सको नम्बर एक ‘फ्यान’ भइरहने बताउनुभएको छ ।

डे भिलियर्सले खेलाडी जीवनबाट सन्याशको घोषणा गरेपछि उहाँलाई धन्यवाद र शुभकामना दिँदै कोहलीले डे भिलियर्स ‘ग्रेटेष्ट अफ अल टाइम-गट’ भएको पनि उल्लेख गर्नुभएको छ । कोहलीले भन्नुभएको छ, ‘तिमीसँगै खेल्दाका क्षणहरू सँधै ‘मिस’ गर्ने छु । आई लभ यू । म सधैं तिम्रो नम्बर एक ‘फ्यान’ रहनेछु । गोट एबी डे भिलियर्स ।’