केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवा निर्वाचित हुने व्यवस्था गरौँ
काठमाडौं:= नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दल रूपान्तरण’सम्बन्धी अवधारणापत्र सार्वजनिक गर्नुभएको छ । पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएका शर्माले बुधबार चितवन पुगेर ‘दल रूपान्तरण, देश रूपान्तरणको अनिवार्य शर्त !’ सार्वजनिक गर्नुभएको हो । असोज ३ गते झापामा ‘राजनीतिमा परिवर्तन’सम्बन्धी अवधारणा सार्वजनिक गर्नुभएका शर्माले पार्टीमा युवालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ ।
केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत युवा निर्वाचित हुने व्यवस्था गर्न पनि उहाँले प्रस्ताव गर्नुभएको छ । ३०-४० वर्षसम्मका प्रतिनिधिहरू उम्मेदवार भएर आपसमा प्रतिस्पर्धा गर्नेगरी व्यवस्था गर्न शर्माको प्रस्ताव छ । ‘अबको जिम्मेवारी युवा रोजगारी’ भन्ने दृढतालाई कांग्रेसले परिणाममुखी ढंगले अघि बढाउनुपर्नेमा शर्माको जोड छ । १४औँ महाधिवेशनमा नयाँ आशा र नयाँ विश्वासमा देशलाई गाँस्ने संकल्प र नवीन खाका कांग्रेसले प्रस्ताव गर्ने शर्माले बताउनुभयो ।
‘महाधिवेशन र महाधिवेशनपछिको कांग्रेसले ‘हिजो राजनीतिक परिवर्तन अब राजनीतिमा परिवर्तन’ भन्ने दृढ उद्घोषसाथ राजनीतिप्रति बढेको वितृष्णा अन्त्य गर्ने र देश निर्माणमा युवा पुस्ताको विश्वास र क्रियाशीलतालाई घनिष्ठसँग गाँस्ने पहलकदमी लिनुछ,’ शर्माको अवधारणा पत्रमा भनिएको छ, ‘सबै दल एउटै प्रकृतिको ‘भेरियन्ट’ले ग्रसित छन् । सिद्धान्तमा आधारित संगठनको नीतिलाई व्यावहारिकताको नियतिले गिजोलेको छ ।’
समय, समाज र निरन्तर बदलिने युवा मनोविज्ञानले दलहरूको आधुनिकीकरण खोजेको भन्दै दलहरू रूपान्तरित हुन नसके प्रणालीमाथि असर पर्न जाने उहाँको भनाइ छ । बदलिएको समाजको मनोविज्ञानबमोजिम कांग्रेसले आफूलाई बदल्नुपर्ने उहाँले बताउनुभयो । उहाँले राजनीतिक दलको नेतृत्व र सदस्यले आफ्नै खुट्टामा उभिएर राजनीति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ‘पार्टीका क्रियाशील सदस्यलाई उद्यमी बन्न प्रेरित गर्नुछ,’ उहाँले भन्नुभएको छ, ‘त्यसैले तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि भन्ने मन्त्र अवलम्बन गर्नुपर्छ ।’
देउवाको गृहजिल्लाका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनशन
वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले रिले अनशन सुरु गरेका छन् ।पार्टीको विधि, विधान, निर्वाचन निर्देशिकाविपरीत गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरूले बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका हुन् ।
जिल्लाका हजारौं पार्टी नेता, कार्यकर्ताको भावनाअनुसार पुनः अधिवेशन गर्न माग गरिए पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले सुनुवाइ नगरेपछि बाध्य भएर रिले अनशन सुरु गर्नुपरेको सभापति मल्लले बताउनुभयो । ‘७६ जिल्लामा एउटा प्रक्रियाबाट अधिवेशन भइराखेको छ । डडेल्धुरामा उहाँकै संरक्षणमा एउटा गुटको अधिवेशन हुँदैछ,’ उहाँले भन्नुभयो, ‘यो अन्याय र अत्याचार भयो ।
कांग्रेसको विधान, नियमावली, निर्वाचन निर्देशिकाविपरीत भयो। आधाभन्दा बढी कांग्रेसहरूलाई अपहेलना र अपमान गर्ने कार्यलाई सच्याइयोस् भनेर हामीले भदौ २३ गतेदेखि निरन्तर सभापतिजीलाई लिखित र मौखिक रूपमा आग्रह गर्यौँ । ११-११ दिनसम्म डडेल्धुरा पार्टी कार्यालयमा अनशन बस्यौँ । अहिलेसम्म पनि त्यसको सुनुवाइ नभएपछि बाध्य भएर अनशन बस्नुप¥यो ।’ यसअघि रौतहटका नेता-कार्यकर्ता पनि क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै सयदिनदेखि पार्टी कार्यालयमै अनशनमा छन् ।
‘केन्द्रीय नेताका कारण सिन्धुपाल्चोकमा अधिवेशन अनिश्चित’
नेपाली कांग्रेसका सिन्धुपाल्चोक जिल्ला सभापति विकाश लामाले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका कारण विभिन्न अधिवेशनहरू प्रभावित भएको आरोप लगाउनुभएको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न असहज अवस्था सिर्जना भएको लामाले आरोप लगाउनुभएको छ । जिल्लाका नेतासमेत रहनुभएका केन्द्रीय सदस्य बस्नेतले असहयोग गर्दा निर्वाचन अधिकृतले जिल्ला जान अस्वीकार गरेको लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘केन्द्रीय प्रतिनिधिका लागि अनुकूल अवस्था सिर्जना गर्न जिल्ला कार्यसमितिका सभापति विकास लामाको निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भई समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्वीकार गर्नुभयो ।
जसकारण विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोमा जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छ,’ लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पार्टीलाई संस्थागत रूपमा सञ्चालन हुन नदिई व्यक्तिवादी जमात र भिडका रूपमा मात्र राख्न चाहने प्रवृत्तिका केही व्यक्तिलाई केन्द्रीय तहले संरक्षण र प्रोत्साहन दिई अधिवेशन सम्पन्न गराउन अनेक बाधा र अप्ठ्यारो अवस्था उत्पन्न गराएको विज्ञप्तिमा जनाइएको छ ।




















