एजेन्सी := कतारमा आयोजना हुने फिफा विश्वकप- २०२२ फुटबल प्रतियोगिता अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोट खेलमा चिली र उरुग्वेले हार बेहोरेपछि अर्जेन्टिना विश्वकप खेलमा छनोट भएको छ ।
मंगलबार भएको खेलमा इक्वेडरले चिलीलाई २-० ले पराजित गरेको हो । इक्वेडरका लागि पेर्भिस इस्टुन्पियान र मोइसेस काइसेडोले गोल गरेका थिए । चिलीका आर्टुरो भिडालले १४ अौं मिनेटमा रातो कार्ड खाएपछि टोलीलाई १-० पछि परेको स्थितिबाट खेलमा फर्कन कठिन भएको थियो ।
त्यस्तै अर्को खेलमा उरुग्वे बोलिभियासँग ३-० ले पराजित भएको थियो । छनोटकै अर्को खेलमा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेल्दा पेरुले भेनेजुएलालाई १-० ले हरायो ।
त्यसअघि अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरीमा रोकिँदै आफैं विश्वकपमा छनोट हुन सकेको थिएन । तर चिली र उरुग्वेको हारसँगै अर्जेन्टिना छनोट हुन सफल भएको छ । ब्राजिल भने यसअघि नै छनोट भइसकेको छ ।




















