दिनप्रतिदिन घट्दै नेपाली अवार्डको गरिमा।

काठमाडौं:= पछिल्लो समय नेपालमा आयोजना भइरहेका विभिन्न सम्मान तथा अवार्ड कार्यक्रमको विवाद बढिरहेको छ । अवार्ड तथा सम्मान दिने र लिने कुरामा किनबेच भइरहेको भन्ने चर्चा चलिरहँदा अवार्डको गरिमा घट्दै गएको छ । पछिल्लो समय सातामै तीनदेखि ६ वटा अवार्ड समारोह हुन थालेका छन्।

विशेषगरी गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरूलाई अवार्ड तथा सम्मान दिने हेतुले हुने अवार्ड समारोह विवादमा पनि पर्दै आएका छन् । केही समयअघिमात्रै सम्पन्न ‘स्टार इन्टरनेशनल अवार्ड’मा अवार्ड नै किनबेच भएको भन्ने समाचार बाहिरिएका थिए । अवार्ड आयोजना भएको थाहा नै नहुने र सम्मानित व्यक्ति पनि चिनेजानेको र पैसाको आधारमा दिइने भएकाले समारोहमै जान मन नलाग्ने केही कलाकारले बताउँदै आउनुभएको छ ।

केही दिनअघिमात्रै एक अवार्ड समारोहमै भेटिनुभएका लोकप्रिय लोकगायक प्रकाश सपुतले अवार्डको गरिमा पछिल्लो समय घट्दै गएको बताउनुभयो । ‘अवार्ड धेरै हुन थाले र कामको मूल्यांकनभन्दा पनि नजिकका हेरेर र आफूलाई चाहिँने भन्दै दिइने अवार्डले गर्दा अवार्डमा जान सोच्नुपर्ने बेला आयो’, प्रकाशले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘तर यही भिडमा कतिपय राम्रो अवार्ड पनि छन् ।’

नवकलाकारलाई सम्मान तथा अवार्ड लिएपछि विदेशका विभिन्न कार्यक्रममा जानका भिसा लाग्ने सम्भावना बढी हुने भएपछि अवार्ड किनबेचको क्रम बढेको हो । नाम नबताउने सर्तमा एक कलाकारले भन्नुभयो, ‘अहिले अमेरिका जानेहरूको लर्को छ । अवार्ड थुपार्ने र अमेरिकाको भिसा एप्लाई गर्ने धेरै छन् । अवार्ड लिने अधिकांश कलाकारको उद्देश्य नै यही हुन्छ । त्यसका लागि कलाकार पनि पैसा तिर्न तयार हुन्छन् र आयोजक पनि पैसा आउने भएपछि पछि हट्ने कुरै भएन ।’

केही समयअघि तिहार विशेष तीजको छायांकनमा भेटिनुभएका लोकप्रिय लोकगायक विमलराज क्षेत्रीले अवार्ड पाउनेले गर्भ गर्ने वातावरण हुनुपर्ने बताउनुभएको छ । ‘म अहिलेसम्म कुनै अवार्डबाट सम्मान नभएको कलाकार हो । मलाई त्यो लोभ पनि छैन । तर यहाँ एउटै शीर्षकबाट थुप्रै कलाकारलाई अवार्ड दिइएको देखिन्छ । मानौं एउटा गायक स्वरसम्राटको उपाधि दिइयो भने अर्को संस्थाले अर्को गायकलाई त्यही उपाधि दिन्छ, त्यो हुनु भएन’, विमलराजले भन्नुभयो, ‘बरू अवार्ड आयोजकहरूको एउटा छुट्टै संस्था बनाउने र वर्षेनी त्यहाँ छलफल हुनुपर्छ ।’

विमलले गायकको दर्जामा राख्न नसुहाउनेलाई पनि अवार्ड बाडिएकाले अवार्डको महत्व घटेको बताउनुभयो । केही समयअघि एक संस्थाले लोकप्रिय लोकगायक राजु परियारलाई स्वरसम्राटको उपाधि दिँदै गर्दा त्यस्तै अर्को संस्थाले अर्को गायकलाई उही उपाधि दिन नहुने गायक विमलराजको भनाइ थियो ।

यस्तै लोकगायक विष्णु खत्रीले लामो समयदेखि गीतसंगीत अथवा कुनै पनि पेशामा लागेकालाई राज्यले नै सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । गायक राजु परियारको हकमा स्वरसम्राटको उपाधि राज्यकै तर्फबाट दिनुपर्ने तर्क राख्नुभयो । यस्तै लोकप्रिय गायक बद्री पंगेनीले पनि अवार्ड समारोहहरू व्यवस्थित हुनुपर्ने बताउनुभयो । गायक पंगेनीले पनि कलाकारको योगदान हेरेर राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो।

पछिल्लो महिनामात्रै थुपै अवार्ड आयोजना सम्पन्न भए । ग्यालेक्सी एक्सिलेन्सी अवार्ड, एएनपी अवार्ड, स्टार इन्टरनेशनल अवार्ड सम्पन्न भए । यस्तै आउँदो महिना तेस्रो एपिक नेपाल म्युजिक अवार्ड आयोजना हुँदैछ । यस्तै तिहारपछि बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा नेसनल बक्स अफिस सर्ट फिल्म अवार्ड, नेसनल लोक दोहोरी म्युजिक अवार्ड, नेसनल टिकटक अवार्ड, नेसनल बक्स अफिस म्युजिक अवार्ड थाइल्याण्ड, जापान र युएईमा हुने आयोजक आरके सुवेदीले जानकारी गराउनु भएको छ ।