न्युयोर्क:= चीनले आगोसँग नजिस्कन अमेरिकालाइ चेतावनी दिएको छ । अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला चीनको चेतावनी आएको हो। ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ,’ चीनले चेतावनीयुक्त भाषामा भनेको छ।
अमेरिकी प्रतिनिधिमण्डको ताइवान भ्रमणलाई चीनले ‘जोखिम र उत्तेजक’ भन्दै यसले एक चीन नीतिको उल्लंघन गरेको आरोप लगाएको छ । ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो । आगोसँग खेल्दा त्यसैले आफैलाई जलाउँछ,’ चीनका विदेशमन्त्री वाङ लीले भने।
तर, अमेरिकी रक्षा मन्त्रालयले आफ्ना सांसदहरुको ताइवान भ्रमण समान्य भएको जनाएको छ । अमेरिकी संसदको प्रतिनिधिमन्डल अमेरिकी सेनाको विमानबाट ताइवान पुगेको थियो । अमेरिकी सांसदहरुको भ्रमण निकै उपयोगी भएको ताइवानका प्रधानमन्त्री सु सेङ चाङले बताएका छन् । भ्रमणलाई उनले ‘साथीहरूबीचको पारस्परिक भेट’ भनेका छन्।
ताइवानको हवाई आधारमा चीनले आफ्ना लडाकु विमान बारम्बार उडाएपछि चीन र ताइवानबीचको सम्बन्ध चिसिएको छ । सम्बन्ध बिगार्न अमेरिकाले अप्रत्यक्ष भूमिका खेलेको चीनको आरोप छ।
चीनले ताइवानलाई आफूबाट अलग भएको महत्वपूर्ण अंशको रूपमा हेर्दै आएको छ भने ताइवानले आफूलाई एउटा स्वतन्त्र मुलुक सम्झन्छ। ताइवानस्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको ताइवान भ्रमणको व्यवस्था गरेको थियो।




















