पूर्व-राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती : शासन गर्ने भए चुनाव लड्नुस्।

काठमाडौं := प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व-राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिनुभएको छ । बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिनुभयो ।

उहाँले पूर्व-राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिनुभयो । देउवाले प्रजातन्त्रको पक्षमा आफू उभिँदा तत्कालीन राजाले जेल हालेको भन्दै आफूलाई जेलमा कोचेपछि नेपालमा गणतन्त्रको माहोल सुरु भएको बताउनुभयो। ‘गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको हो ।

मैले सरकार सबै चढाउँछु, प्र्रजातन्त्रविरुद्ध जान सक्दिनँ भनेँ, तर मलाई जेलमा थुनियो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको छ । यसको खिलाफमा मान्छे लाग्न सक्छन् । मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुनै सक्दैन । उनीहरूले चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’

उहाँले अहिले सबैभन्दा राम्रो संविधान बनेको समेत बताउनुभयो । संविधानमा समस्या आए प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो । ‘यो अहिले सबैभन्दा राम्रो संविधान छ, समावेशी, समानुपातिक छ,’ उहाँले भन्नुभयो, ‘सबैलाई अटाएको छ, केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराउनुभयो । उहाँले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन । जनता नै यो देशको मालिक हुन्,’ उहाँले भन्नुभयो, ‘जनताले सहयोग गरेनन् भने जान्छ । त्यसैले यहाँ जनतन्त्र छ । प्रजातन्त्र भन्छ ।’