युएई (एजेन्सी) := दुबई युएईमा जारी टी–२० विश्वकपको खेलमा अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्यान्ड टिम विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। न्युजिल्यान्डको जितसंगै भारत भने एक खेल बाँकी छँदै समुह चरणबाटै बाहिरिएको छ ।

अबुधाबीमा आयोजित खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो । ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे । गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए ।

छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ तथा टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एडम मिल्न, जेम्स निशाम र इश सोधीले समान एक विकेट लिए ।
न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड आठ विकेटले विजयी भयो।
प्रतियोगितामा समूह १ बाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन्। यस्तै, समूह २ बाट न्युजिल्याण्ड र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा भारत, वेस्ट इन्डिज तथा श्रीलंकाजस्ता टोलीको प्रदर्शन सन्तोषजनक रहेन। दक्षिण अफ्रिका यो पटक पनि अनलक्की टोली बन्यो। समूह चरणका चार खेल जिते पनि रन रेटमा अष्ट्रेलियासँग पछि परेपछि अफ्रिका समूह चरणबाटै बाहिरियो।
यस्तै, भारतले समूह चरणका चारमध्ये दुई खेलमात्र जितेको छ। अब अन्तिम खेल नामिबियासँग हुनेछ। श्रीलंकाले जारी प्रतियोगितामा पाँचमध्ये दुईमात्र खेलमा जित हासिल गर्यो। बंगलादेशले समूह चरणका पाँचै खेलमा हार ब्यहोर्यो। सुपर १२ मा बंगलादेश अंकविहीन नै बन्यो। स्कटल्याण्डले पनि हालसम्म खेलेका चारै खेलमा हार व्यहोरेको छ। स्कटल्याण्ड र पाकिस्तानबीच आजै खेल हुँदैछ।




















