काठमाडौं:= एएफसी यु-२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यु-२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित हुँदै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६–० को फराकिलो हार व्यहोर्दै नेपालको छनोट हुने सम्भावना समाप्त सकिएको हो ।
नेपालले खेलको पहिलो हाफमा तीन तथा दोस्रो हाफमा पनि तीन गोल नै व्यहो¥यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गर्नुभयो ।
खेलको २४औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुवाती अग्रता दिलाउनुभयो भने खेलको ३३औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २-० ले अघि रहृयो । त्यस्तै खेलको ४१औं मिनेटमा रुस्तमले गोल गर्नुभएपछि घरेलु टोली ताजिकिस्तान पहिलो हाफमा ३-० ले अघि रहृयो ।
खेलको ६३औं मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–०ले अघि रहृयो । खेलेको ६८औं मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाउनुभयो । त्यसपछि खेलको ७२औं मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० गोलको जीत दिलाउनुभयो ।
छनोटको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो । यता ताजिकिस्तानको भने यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।
एक महिनादेखि अखिल नेपाल फुटबल संघ (एन्फा)मा नियमित प्रशिक्षण गरेर नेपाली टोलीलाई ताजकिस्तान पठाएको थियो । एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर तीन–चार टोलीसहितको ११ समूह निर्धारण गरिएको हो ।
नेपालले हालसम्म एएफसीको यु-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन हुँदै छनोटबाट घर फर्केको थियो । प्रतियोगिताको पाँचांै संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले एक/एक पटक उपाधि जितेका छन् ।
समूहको शीर्ष टोलीले एएफसी यु-२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यु–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।




















