एजेन्सी := साउथका कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो।
बिहान जिममा रहेका बेला पुनित अचानक ढलेपछि उनलाई उपचारको लागी तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।
शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ ।
पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राजकुमारका छोरा हुन् । उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा निधन भएको मिडियाले उल्लेख गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।
पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो। उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।




















