बाढीपहिरो प्रभावित पूर्व-पश्चिम क्षेत्रमा प्रधानमन्त्री देउवाको निरीक्षण।

 ‘पहिरोले पीडितलाई उद्धार र राहत गर्न सरकार चुक्दैन’

[ प्रकाश नेपाल / जितेन्द्र भण्डारी ] 

इलाम/पाँचथर:= प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रदेश १ का विभिन्न जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । अविरल वर्षापछिको बाढी र पहिरोले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आइतबार पूर्वी नेपाल पुग्नुभएको हो। देउवाले बाढीपहिरो र डुबान प्रभावित पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर पुगेर प्रभावित क्षेत्रको अवलोकन, पीडितहरूसँग भेटघाट र अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवासँगै संघीय सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङलगायत क्षतिको निरीक्षण गर्न प्रदेश १ पुग्नुभएको थियो।  प्रदेश नम्बर .१ सरकारका मुख्यसचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावको बारेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो। उहाँले प्रदेशका सबैभन्दा बढी पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बुमा धनजनको क्षति भएको जानकारी दिनुभयो ।

प्रदेशमा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको बाढीपहिरोबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सातजना अझै बेपत्ता भएका छन् । बाढी र पहिरोमा परेर प्रदेशका ५७० घर पूर्णरूपमा, ८९४ घर आंशिक रूपमा क्षति भएका छन् । प्रदेशमा १५ देखि २० प्रतिशत धानबालीमा क्षति भएको छ । पूर्व जानुअघि उहाँले सुदूर र कर्णाली प्रदेशको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

सुदूरपश्चिमका विभिन्न क्षेत्रको हवाई र स्थलगत निरीक्षण गर्नुभएका देउवाले विभिन्न क्षेत्रमा राहतको घोषणा गर्नुभएको थियो । पश्चिम क्षेत्रमा पुगेर गरेको प्रतिबद्धता उहाँले पूर्वी क्षेत्रमा पुगेर पनि दोहोर्‍याउनुभएको छ । आफू काठमाडौं फर्किनासाथ बाढीपीडितका लागि काम गर्ने प्रतिबद्धता पूर्वमा पनि दोहोर्‍याउनुभयो ।

विशेष राहत प्याकेज ल्याउने घोषणा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबानपीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ । आइतबार इटहरीमा बाढी प्रभावित क्षेत्रको अवलोकनपछि बाढीपहिरोबाट भएको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने घोषणा गर्नुभयो । उहाँले सरकारको प्राथमिकता नै बाढीपहिरोबाट परेको क्षति न्यूनीकरणमा रहेको बताउनुभयो । क्षति न्यूनीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उहाँको भनाइ छ ।

‘सुदूरपश्चिमबाट मध्यपश्चिमका जिल्लाहरूमा बाढी, पहिरो र डुबान भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘पूर्वमा पनि त्यस्तै अवस्था भेटियो । पहाडमा पहिरो र बाढीले प्रभाव परेको रहेछ । पहिरोले पीडितलाई उद्धार र राहत गर्ने हो । प्रभावितलाई तत्काल खान र बस्ने व्यस्था गर्नुपर्छ । अहिले पाल टाँगेर राखेका छौँ । खानाको व्यवस्था गरेका छौँ । तत्काल तीनै तहका सरकारको अन्तरसमन्वयबाट उद्धार र राहतको काम गर्नुपर्छ ।’ यस्तै घटना आगामी दिनमा दोहोरिन नदिन पूर्व-तयारीमा लाग्नुपर्नेसमेत उहाँले बताउनुभयो ।

किसानहरूको पीडामा मलम लगाउने वचन

प्रधानमन्त्री देउवाले भौतिक र मानवीय क्षतिभन्दा कृषि क्षेत्रमा बढी क्षति भएको उल्लेख गर्नुभयो । अझै धानबाली सखाप नै भएकाले कृषकसँगै सिंगो देशलाई खाद्यसंकट आइपर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नभयो । विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरूको पीडामा मलम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।

‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौँ, साधनस्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौँ,’ उहाँले भन्नुभयो, ‘बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि बासस्थान र खानको लागि व्यवस्था गर्नेर्छौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’

यस्तै, पाँचथर पुगेर पनि उहाँले राहत वितरणका लागि थप निर्णय गर्ने घोषणा गर्नुभयो । पीडितहरूलाई सम्बोधन गर्दै उहाँले मन्त्रिपरिषद् बैठक बसेर राहत वितरणका लागि थप निर्णय गर्ने बताउनुभयो । ‘विपत्मा परेकाहरूलाई अस्थायी र स्थायी तरिकाले समाधान गर्नेछौँ, अल्पकालीन भनेको अहिले उद्धार गर्ने हो, राहत वितरण गर्ने हो, आइतबार पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, राँकेमा पीडितहरूलाई सम्बोधन गर्दै उहाँले अहिले स्थलगत अनुगमन गरेको र मन्त्रिपरिषद् बैठक बसेर राहत वितरणका लागि थप निर्णय गर्ने बताउनुभयो।

‘विपत्मा परेकाहरूलाई अस्थायी र स्थायी तरिकाले समाधान गर्नेछौँ, अल्पकालीन भनेको अहिले उद्धार गर्ने हो, राहत वितरण गर्ने हो । हामी क्याबिनेट बैठक बसेर थप निर्णय गछौँ,’ उहाँले भन्नुभयो, ‘काठमाडौं गएर आगामी मन्त्रिपरिषद्मा तपाईंहरूका लागि दीर्घकालीन राहतको व्यवस्थापन गर्छु । सरकार तपाईंहरूको साथमा छ ।

प्रधानमन्त्री देउवाले बाढी-पहिरोपीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यकता भएको बताउनुभयो ।

सरकारले यसअघि नै बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका पाँच जनासम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र पाँचजना भन्दामाथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गत बुधबार गरेको थियो । बाढीपहिरोमा परी घाइते हुनेहरूको उपचारको सबै व्यवस्था सरकारले गर्ने निर्णय भएको छ ।

तीन दिन लगातार परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी पूर्व र सुदूपश्चिममा क्षति पुगेको छ । अन्य प्रदेशमा समेत गरी हालसम्म देशभर सय बढीले बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका छन् भने अझै दर्जनौँ बेपत्ता छन् । मानवीयसँगै बाढीपहिरोले भौतिक क्षति पनि पुर्‍याएको छ । विशेषगरी किसानहरूले भित्र्याउनै लागेको धानबाली सखाप पारेको छ भने सयौँ घर भत्किएका छन् । केही विस्थापित भएका छन् । अझैसम्म पनि बाढीपहिरोले देशभर पुर्‍याएको क्षतिको यकिन विवरण आइसकेको छैन ।