काठमाडौं := नेपाल सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गर्नुभएको छ ।
सकारको एक सय दिन पूरा भइरहँदा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाउनुभएको हो । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबीसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो । यो नायवीद्वारा चलिराखेको छ निमित्त नायकको सरकार । नायक होइन । मैले भनेँ अघि नै यो सरकार आलोचना गर्न पनि लायक रहेन क्या । टिप्पणी गर्न पनि लायक रहेन यो सरकार । जसको हातमा नायवी छ, पर्दा पछाडि छ के भन्नु ? जो अगाडि छ, विचरा, अर्काले चलाएको नायवीमा चलेको छ के भन्नु ? त्यो हालतमा छ । साँच्ची यो सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्छ नेपालमा ? कसले चलाएको छ कसले ? भित्रकाले चलाएको छन् कि बाहिरकाले चलाएका छन् कि ? पर्दा पछाडिकाले चलाएका छन् कि, पर्दा अगाडिकाले ? यस्तो स्थितिमा छ ।’
अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताउनुभयो । अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले कांग्रेस आगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भए पनि ऊसँग जनतामा जाने कुनै एजेण्डा नरहेको बताउनुभयो ।
ओलीले आफूहरूले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सक्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका ओलीले आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने भने नरहेको स्पष्ट पार्नुभयो । ‘अहिले पनि यो सरकार ढाल्दिने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिने हो भने । यस्तैयस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौँ । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र,’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउनुभयो । उहाँले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरूले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताउनुभयो ।




















