‘साफले अन्याय गर्दै फाइनल खेलाउने सपना तोड्यो’ प्रशिक्षक अलमुताइरी।

एजेन्सी := नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले फाइनलका लागि आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् ।

साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले पत्रकार सम्मेलनमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो,’ उनले भने ।

नियमावलीमा उल्लेख नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा साफको एकपक्षीय निर्णयप्रति उनी दुखि देखिए । ‘मलाई निकै दुख लागेको छ । साफले मलाई किन निशानामा राखेको छ । मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ । मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने बताए । उनले साफले आफ्नो फाइनल खेलाउने सपना चकनाचुर पारिदिएको बताए । ‘यो सहि भएन । एक प्रशिक्षकको आफ्नो टोलीका लागि मुख्य खेल खेलाउने सपना चकनाचुर भयो । म व्यक्तिगत रुपमा मन परेन भनेर यसो गर्नु सही भएन । या त भारतका प्रशिक्षक उपस्थित नहुने भएकाले मलाई पनि कारवाही गरिएको हो,’ उनले दुख पोखे ।

अलमुताइरीले नियम विपरित कारवाही गरे साफले फुटबल विकासबारे गर्ने कुरा बेकार हुने बताए । उनले आफ्नै नियम नमान्ने साफबाट केहि अपेक्षा गर्ने भन्ने प्रश्न गरे । ‘साफले नियम मान्नुपर्छ । मलाई लाग्छ साफले एकपक्षीय निर्णय गरेको छ । किन मेरो लागि आफ्नै नियमको सम्मान हुँदैन । खेल मैदानभित्र खेल्ने हो, मैदानबाहिर होइन । यदि साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो । भारतका प्रशिक्षक रातो कार्ड पाएर रिसाए भनेर हामीलाई कारवाही गर्नु ठिक भएन,’ उनले भने ।

अलमुताइरीले आफू मैदानभित्र नभएपनि टोलीले उपाधिका लागि खेल्ने बताए । ‘म त्यहाँ भएपनि नभएपनि टोलीले उपाधिका लागि खेल्नेछ । तर यो न्याय भएन । हामीलाई अन्याय गरेर साफले राम्रो गरेन,’ उनले थपे एन्फाले यसबारे एएफसी र साफसँग छलफल गर्ने प्रयास गरिरहेको पनि बताएको छ । #Hamro khelkud