पहिलो अवार्डले निर्मलालाई दिएको उत्साह।

काठमाडौं:= कुनै पनि पेशामा लागेकाहरूलाई त्यही पेशासँग सम्बन्धित सम्मान तथा अवार्ड पाउँदा एक किसिमको हौसला तथा खुशी मिल्छ । एक दशकभन्दा बढी समयदेखि नेपाली गीतसंगीतको क्षेत्रमा संघर्षरत गायिका निर्मला थापामगरलाई अहिले आएर पाएको अवार्डले थप उत्साह दिएको छ । यो अवधिसम्म १ सय ५० बढी गीत गाइरहँदा अहिलेसम्म कुनै पनि अवार्ड हात पार्नुभएको थियो ।

निर्मलाले यही असोजको दोस्रोसाता काठमाडौंमा सम्पन्न क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा ‘माया लाएर’ बोलको गीतबाट सर्वोत्कृष्ट लोक दोहोरी गायिका विधामा अवार्ड पाउनुभएको थियो । जुन गीतमा स्वरमा नरेश खातीले निर्मलालाई साथ दिनुभएको छ । उक्त गीतले केही समयअघि लोकप्रियता हासिल गरेको पनि थियो ।

निर्मलाले आफूले पाएको पहिलो अवार्डले उत्साह थपेको बताउनुभयो । उहाँले काम गर्दै जाँदा कामको मूल्यांकन गरेर दिइने अवार्ड तथा सम्मानले आफूलाई आगामी दिनमा थप हौसला मिल्ने बताउनुभयो । ‘मैले अहिलेसम्म कुनै अवार्डमा फर्म भर्ने गरेकी थिइँन, यस अवार्डमा चाहिँ मेरो गीतलाई अवार्ड दिन योग्य ठानेर दिनुभयो । यो अवार्डले उत्साह थपेको छ’, निर्मलाले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘आगामी दिनमा अझ राम्रो काम गर्नुपर्छ भन्ने लागेको छ ।’

निर्मलाले आफू अवार्ड तथा सम्मानको पछि कहिल्यै नलागेको बताउनुहुन्छ । निर्मला भन्नुहुन्छ, ‘कर्म गर्दै जाँदा पक्कै सम्मान भन्ने कुरा मिल्दै जान्छ । त्यसैले अवार्ड पाउन पाए हुन्थ्यो, सम्मान थाप्न पाए हुन्थ्यो भन्ने कहिल्यै लागेन ।’ निर्मलाले नेपाली लोकसँगै आधुनिक, लोकपप, सालैजो, सेलो तथा पञ्चेबाजा गीत गाउनुभएको छ । उहाँले विसं २०६६ सालमा पहिलोपटक आधुनिक गीत रेकर्ड गराउनुभएको थियो । ‘खडेरीमा सुकेको फूल’ बोलको गीत गाउनुभएको थियो । जुन गीतमा सुदन ज्ञवालीको शब्द र बलराम समालको संगीत रहेको छ ।

निर्मलाको संघर्ष भने एक दशकभन्दा लामो छ । पहिलो गीत रेकर्ड गराउनुभन्दा झण्डै तीन वर्षअघिदेखि विभिन्न दोहोरी साँझहरूमा गीत गाउने काम गर्नुभयो । त्यसरी आफूलाई गायनमा अब्बल गराएपछिमात्र गीत रेकर्ड गरेको निर्मला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुरुमा रेकर्ड गर्न हतार गर्नुभन्दा पनि सिकेर केही गर्नुपर्छ भन्ने लागेर दोहोरी साँझमा तीन वर्ष जति काम गरेकी हुँ ।’ उहाँले गाएका गीतमध्ये ‘मेरो सोल्टी राजा, तम्घास बजार, हाँसेर बोल, भबरा, गोर्खाली सोल्टी, रिडिङ बजार’ हिट गीत हुन् । पछिल्लो समय गएको तीजमा सार्वजनिक भएको निर्मलाले गाउनुभएको ‘लोकचारे भेना’ गीतले पनि चर्चा पाएको थियो ।

निर्मला सांगीतिक कार्यक्रमकै लागि अहिलेसम्म भारत, दुबई, कतार र हङ्कङसम्म पुगिसक्नुभएको छ । धेरै तडकभडक र देखावटी कुरामा विश्वास नगर्ने निर्मता सिम्पल र सरल हुनुहुन्छ । कतिपय गायक तथा गायिकाले गीत गाइसकेपछि प्रमोशनका लागि सामाजिक सञ्जालमा गरेको तडकभडकबाट टाढै रहने निर्मलालाई पछिल्लो समयको कोरोना कहरले केही असर गर्‍यो । अहिले गीत रेकर्डको काम भइरहेको बताउनुहुन्छ ।