फिलिपिन्स := फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवार दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामलेसमेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी दिएका हुन्।
६४ वर्षीय म्याक्रोस वर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका साथीसमेत हुन् । म्याक्रोसका बाबुले फिलिपिन्समा २० वर्षसम्म शासन गरेका थिए । उनलाई सन् १९८६ मा सत्ताच्युत गरिएको थियो । आफ्नो दोस्रो कार्यकाल समाप्त हुन एक वर्ष बाँकी हुँदा म्याक्रोसले सन् १९७२ मा फिलिपिन्सलाई मार्शल कानुन लागू गरेर तानाशाही शासन सञ्चालन गरेका थिए।
उनले संसद विघटन गरिदिए, राजनीतिक प्रतिद्धन्द्धीलाई पक्राउ गर्ने आदेश दिए र फिलिपिन्समा विभिन्न आदेश र अध्यादेशका भरमा सत्ता चलाए । उनको शासनकालमा धेरै मानिसको गैरन्यायिक हत्या हुनुका साथै बिरोधीमाथि चरम यातना दिइएको थियो ।अन्त्यमा सेनाको समर्थन रहेको ‘जनआन्दोलन’ ले उनलाई सत्ताच्युत गरेको थियो । हवाईमा निर्वासनमा रहेका बेला सन् १९८९ मा उनको मृत्यु भएको थियो । मार्कोस जुनियर पूर्वराष्ट्रपतिका एक मात्र छोरा हुन्।
उनी सन् २०१० देखि सन् २०१६ सम्म सिनेटर थिए । सन् २०१६ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए। यसअघि फिलिपिन्सका राष्ट्रपतिकी छोरीले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । एक कार्यकाल पूरा गरेपछि लगातार अर्को पटक राष्ट्रपतिको उम्मेदवारी दिन फिलिपिन्सको कानुनले रोक लगाएको छ । -एजेन्सी




















