नेपालको एसियन कप फुटबल खेल खेल्ने यात्रा समाप्त।

काठमाडौं:= हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप-२०२२ छनोटको यात्रा समाप्त भएको छ । एसियन कपमा छनोट हुन कम्तीमा जितको नतिजा निकाल्नुपर्ने दबाबका बीच मैदान उत्रिएको नेपालले गोलरहित बराबरी खेलेपछि आफ्नो यात्रा टुंग्याएको हो ।

उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा पटक-पटकका नेपाली प्रहार सफल हुन सकेनन् । चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ ।

नेपालले यसभन्दा अघि तीनपटक एसियन कप खेलिसकेको छ । यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिए पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २-१ को हार बेहोरेको थियो ।

हङकङविरुद्ध नेपालले फिलिपिन्सविरुद्धको पहिलो रोजाइमा खेलेको भन्दा टोलीमा एक खेलाडी परिवर्तन गरेको थियो । डिफेन्डर पूजा रानाको स्थानमा विमला विकले पहिलो रोजाइमा मौका पाउनुभएको थियो । पूजाले फिलिपिन्सविरुद्धको खेलमा चोट बोक्नुभएको थियो । उहाँको स्थानमा विमलाले नै राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको हो ।

त्यसबाहेक डिफेन्समा गीता राना, हीराकुमारी भुजेल, अमृता जैसी र विमला विक, मिडफिल्डमा कप्तान रेनुका नगरकोटीसँगै मञ्जलीकुमारी योञ्जन र सरु लिम्बू तथा फरवार्डमा प्रीति राईसँगै सविता राना र विमला चौधरीले सम्हाल्नुभएको थियो ।

नेपालले हङकङसँग यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले हङकङसँग सन् १९८६ मा १-० ले तथा सन् १९८९ मा ३-० को हार बेहोरेको थियो । त्यसयता यी दुई टोलीको यो पहिलो भेट हो ।

अब यस समूहको फिलिपिन्स र हङकङबीचको खेल ८ असोजमा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

समूह विजेता सोझै एसियन कपका लागि छनोट हुने प्रावधान छ । नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो । सुरुवाती दुवैपटकका प्रतियोगिता हङकङमा भएका थिए । नेपाल त्यसबेला सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन । १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो ।