प्राप्ति र अश्विनलाई अनलाइन सिंगिङ स्टारको उपाधि।

काठमाडौं := अनलाइन सिंगिङ स्टार अवार्ड २०२०/०२१ को उपाधि प्राप्ति तामाङ र अश्विन प्रधानले जित्नुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको प्रतिस्पर्धामा १६ वर्षमुनिका तर्फबाट गायनमा काभ्रेकी प्राप्ति तामाङ प्रथम हुनुभयो ।

त्यस्तै काठमाडौंमा रितु श्रेष्ठ द्वितीय र भक्तपुरकी झरना खनाल तृतीय हुनुभयो । प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार पाउनु भएको छ । उहाँहरूले शनिबार आफ्नो गायन प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै खुलातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा वीर बज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो हुनुभयो । खुलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित ट्रफी जित्नुभएको त । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिले उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट हुनुभएको थियो । प्रतियोगितामा सहभागी अन्यलाई विविध प्रस्तुतिका लागि ट्रफी प्रदान गरिएको थियो ।

देशबाहिर १९ देशमा रहेका नेपालीले पनि प्रतिस्पर्धामा भाग लिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताउनुभयो ।