पारा ओलम्पिकमा ऐतिहासिक प्रदर्शन गरेकी पलेशा पुरस्कृत।

काठमाडौं । बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारा ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्वघोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेबापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गर्नुभयो ।

सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान सात/सात हजार नगदसहित पुरस्कृत गरियो । नेपाली कांग्रेसका नेता पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उहाँहरूलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रच्नुभएको थियो । कुनै पनि ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो नेपाली खेलाडी बन्दै ऐतिहासिक प्रदर्शन गर्नुभएको हो । पहिलो खेलमै बेलायतकी खेलाडीसँग पराजित भए पनि उहाँले रेपेचेजमा कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनुभएको थियो । त्यसमा लगातार दुई खेल जित्दै उहाँ रेपेचेजको फाइनलमा पुग्नुभयो । फाइनलमा चीनकी युजी लीलाई कडा टक्कर दिए पनि अन्त्यमा १२-९ को अन्तरमा खेल गुमाउँदै उहाँ पदकबाट वञ्चित हुनुपर्‍यो ।

पलेशाले कास्य पदकका लागि भएको प्रतिस्पर्धाको पहिलो राउन्डमा अग्रता लिनुभएको थियो । दोस्रो राउन्डमा केही कमजोर प्रदर्शन गरे पनि तेस्रो राउन्डमा पुनरागमन गर्दै उहाँले खेल बराबरीमा ल्याउनुभएको थियो । तर, अन्तिम सेकेन्डमा अंक गुमाएपछि उहाँले पदक जित्न सक्नुभएन ।

कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४-२ को अग्रता लिनुभएको थियो । दोस्रो राउन्डमा लीले ५-० ले जित्दै समग्रमा ७-४ को अग्रता लिनुभयो । तेस्रो चरणमा एक समय खेल ९-९ को बराबरीमा पुगे पनि समग्रमा १२-९ को जितसहित लीले कास्य पदक जित्नुभयो ।

त्यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित हुनुभयो । पलेशा २१–८ ले पराजित भएपछि स्वर्णपदकको सम्भावना समाप्त हुँदा रेपेचेजमार्फत् कास्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने हुनुभएको हो ।

रेपेचेजतर्फ पलेशाले क्वार्टरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गर्नुभयो । अमेरिकी ब्रायना सालिनारोलाई १०-० ले पराजित गरेपछि उहाँ सेमिफाइनलमा प्रवेश गर्नुभएको थियो । ओलम्पिक स्पर्धामा नेपालका कुनै पनि खेलाडीले जित हासिल गरेको यो नै पहिलोपटक हो ।

पलेशाले सेमिफाइनलमा सर्बियाकी मिसेभलाई हराउँदै पदक भिडन्तमा स्थान पक्का गर्नुभएको हो । मिसेभले पहिलो चरणमा ४-४ को बराबरी गरे पनि दोस्रोमा ७-२ र तेस्रोमा १२-९ को स्कोरले पलेशा समग्रमा २३-१५ ले विजयी रहनुभयो । यस जितले उहाँको लीसँगको भिडन्त पक्का भएको थियो ।