लुकाकुको दुई गोलको सहायतामा चेल्सीले एस्टन भिल्लालाई ३–० गोल अन्तरले हरायो।

एजेन्सी := बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ।

घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो । एक गोल माटियो कोभासिसको नाममा रह्यो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १५ औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले माटियो कोभासिसको पासमा गोल गर्न सफल भएका थिए।

४९ औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले कप्तान सेसर एज्पिलिक्वेटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे।

जितपछि चेल्सीले शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेपनि गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ। अपराजित रहेको दुवै टोलीको समान ४ खेलबाट १० अंक छ। पराजित एस्टन भिल्ला ४ अंकसहित १२ औं स्थानमा छ।