लन्डन:= फ्रान्सेली युवास्टार केलियन एमबाप्पेले फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटका बाँकी दुई खेल गुमाउने हुनुभएको छ । विश्वकप छनोटअन्तर्गत बोस्निया एन्ड हर्जगोभिनासँग १–१ गोलको बराबरीमा रोकिँदा एमबाप्पेले दायाँ खुट्टामा चोट लागेको थियो । खुट्टाको पिँडुलामा चोट बोकेपछि २२ वर्षीय एमबाप्पे विश्वकप छनोट खेल्ने फ्रान्सको राष्ट्रिय टिमबाट बाहिर हुनुभएको हो ।
फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) ले एमबाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) फर्कने अनुमति दिएको छ । अब उहाँले क्लबमै आवश्यक उपचार गर्नुहुनेछ । चोट बोकेसँगै एमबाप्पेले युक्रेन र फिनल्यान्डविरुद्धको विश्वकप छनोट खेल गुमाउने हुनुभएको हो । एमबाप्पे बाहिरिएपछि उहाँको स्थानमा अन्य कुनै खेलाडीलाई पनि टोलीमा बोलाइएको छैन ।
सन् २०१७ देखि फ्रान्सको राष्ट्रिय टोलीमा रहनुभएका एमबाप्पेले ४९ खेलमा १७ गोल गरिसक्नुभएको छ । एमबाप्पे लिग वानमा क्लेर्मोन्टविरुद्धको खेलमा फर्कने आशा गरिएको छ । उक्त खेल ११ सेप्टेम्बरमा हुनेछ ।




















