एमाले उपाध्यक्ष वामदेव गौतमबाट पार्टी परित्याग, सबै पदबाट राजीनामा।

‘ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ’

काठमाडौं:= नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ । गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । गौतमले राजीनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दीपक टमाटाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बन्नुभएको थियो । उहाँले नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहनु भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो । नेकपाका दुई समूहले आ-आफ्नो ढंगले गतिविधि गर्दा गौतम भने नेकपा एकता अभियानमा लाग्नुभएको थियो ।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीको एकता भंग गरिदिएको थियो । त्यसको केही समय उहाँ एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा जानुभएको थियो । एमालेभित्र विवाद उत्पन्न भएसँगै एमाले एकताको जिम्मा आफूलाई दिन गौतमले आग्रह गर्नुभएको थियो । तर, ओलीले गौतमलाई कुनै भूमिका दिनुभएको थिएन ।

गौतमले ओलीलाई संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई पालना नगरेको आरोप राजीनामा पत्रमा लगाउनुभएको छ । ‘तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो’, गौतमले लेख्नुभएको छ, ‘त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो ।’ यस्तै उहाँले ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ भएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताको कारण अब उप्रान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’

यसअघि माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा सहभागी हुने बताउनुभएका गौतमले निर्वाचन आयोगमा सनाखत भने गर्नुभएको थिएन । एकीकृत समाजवादीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने भए मात्रै उक्त पार्टीमा रहने उहाँले बताउँदै आउनुभएको छ ।