नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा चार उम्मेदवार।

काठमाडौं := नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेद्वारसँग अन्तरक्रिया आयोजना गरेको छ । सेजनको यही भदौ १८ गते हुने निर्वाचनमा अध्यक्षमा आशिष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

सो अवसरमा अध्यक्षका उम्मेद्वारहरूले आर्थिक पत्रकारिताका क्षेत्रमा सशक्त भएर लाग्ने प्रतिबद्धता जनाउँदै आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका साथै अर्थतन्त्रका विविध विषयमा बहस चलाइने बताउनुभएको छ । अध्यक्षका उम्मेद्वार आशिष ज्ञवालीले सञ्चारमाध्यममा नवप्रवेशी पत्रकारको अभाव भएको भन्दै आर्थिक पत्रकार जन्माउन सेजनले ध्यान दिने बताउनुभयो ।

अर्का अध्यक्षका उम्मेद्वार जनार्दन बरालले साझा धारणा बनाएर अघि बढ्ने बताउनुभयो । रिपोर्टिङ तथा डेक्समा म्यानपावर अभाव भएको भन्दै तालिम तथा सीप प्रदान गरेर इन्टरसिपमा पठाउन सकिने उहाँले बताउनुभयो ।

आर्थिक तथा पत्रकारिताका विद्यार्थीलाई पत्रकारितातर्फ आकर्षित गर्न विश्वविद्यालयसँग सहकार्य गरिने पनि उहाँले बताउनुभयो । अर्का अध्यक्षका उम्मेद्वार शिरोमणि ढुंगानाले पारदर्शिता र उत्तरदायित्वमा भूमिका खेल्ने बताउनुभयो । सेजन अध्यक्षकी अर्की दावेदार सरस्वती ढकालको भने कार्यक्रममा सहभागिता थिएन ।