म्याड्रिड:= स्पेनिस लालिगामा दोस्रो राउण्डको खेल समाप्तिसँगै क्लबहरू तेस्रो राउन्डको तयारीमा व्यस्त छन् । पहिलो र दोस्रो राउण्डमा बलियाक्लबहरूले नै वर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शत प्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् ।
सेभिया र एट्लेटिको लगातार दुई जितनिकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर, सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजानिकालेको बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले समान चार–चार अंक जोडेका छन् । लिगको सुरुवाती अवस्थालाई हेर्दा लालिगाको उपाधिहोड यिनै क्लबको पेरिफेरीमा घुम्ने देखिएको छ । यतिबेला लालिगामा दोस्रो चरणको नतिजाले भन्दा बार्सिलोनाका युवा स्ट्राइकर अन्सु फातीको पुनरागमन र फ्रेन्च सुपरस्टार केलियन एमबाप्पे रियल म्याड्रिड आउन सक्ने विषयले बढी चर्चा पाएको छ ।
बार्सिलोनाका प्रभावशाली कप्तान लियोनल मेस्सी भर्खर २१ वर्षे बार्सिलोना बसाई अन्त्य गरेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जानुभयो । मेस्सीको बर्हिगमनपछि बार्सिलोनाको अग्रपंक्ति कमजोर हुने आँकलन गरिएको थियो । बार्सिलोनामा मेस्सीको स्थान ओगट्न तयार देखिएका १८ वर्षीय अन्सु फाती गत सिजन घाइते हुनुभएको थियो । फातीको घाइते अवस्थाले बार्सिलोना चिन्तित थियो ।
घुँडाको चोटका कारण करिब दश महिना मैदान बाहिर रहनुभएका फातीभर्खर बार्सिलोनाको प्रशिक्षणमा फर्किनुभएको हो । लामो उपचार प्रक्रिया पूरा गरेर फाती फर्किएपछि बार्सिलोनालाई ठूलो राहत मिलेको छ । यद्यपि बार्सिलोनामा मेम्फिस डिपाए, एन्टोइन ग्रीजम्यान, मार्टिन ब्रेथवेटले अग्रस्थानमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएको छ । फातीको पुनरागमनले उत्साही बार्सिलोनाले सेप्टेम्बरदेखि उहाँलाई खेलाउने तयारी गर्दैछ ।
१६ वर्षको कम उमेरमै बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका फाती गत सिजन लालिगाकै रियल बेटिसविरुद्धको खेलमा घाइते हुनुभएको थियो । उहाँले त्यतिबेला मेस्सीले रिप्लेस गर्नुभएको थियो । मेस्सीसँगै पहिलो रोजाईमा खेल्दै आएकाफातीले बार्सिलोनाकालागि १३ गोल गरिसक्नुभएको छ ।
यसैबीच मेस्सी बार्सिलोना छाडेर पीएसजी गएसँगै केलियन एमबाप्पेले पीएसजी छाड्ने तयारी गर्नुभएको छ । अघिल्लो सिजनमै रियल म्याड्रिड जाने हल्ला चलाईएका एमबाप्पेको फेरि रियल भित्रिने चर्चा सुरु भएको छ । रियल म्याड्रिडले एमबाप्पेलाई भित्र्याउने इच्छा धेरै पहिलेदेखि गर्दै आएको थियो । यसपटक रियलले एमबाप्पेलाई अनुबन्ध गर्न पीएसजीसामु एक सय ६० मिलियन युरोको औपचारिक प्रस्ताव गरिसकेको छ । पीएसजीले भने रियलको पहिलो प्रस्तावलाई अस्वीकार गरेको छ ।
पीएसजीले एमबाप्पेका लागि रियलसँग १८० मिलियन युरो लिनचाहेको समाचार स्पेनिस सञ्चारमाध्याम मार्काले उल्लेख गरेको छ । पीएसजीसँग एमबाप्पेको करार सम्झौता एक वर्ष बाँकी छ । उहाँ अर्काे समरसम्म ‘फ्री एजेन्ट’ हुनुहुनेछ । यदि पिएसजीले एमबाप्पेबाट केही रकमप्राप्त गर्ने हो भने यही बेला उचित मूल्यमा बेच्नुपर्ने हुन्छ । यस सिजनको समर ट्रान्सफर अगष्ट ३१ मा सकिँदैछ ।
त्यसैले पिएसजी सकभर एमबाप्पेसँग नयाँ सम्झौता गर्न चाहन्छ । तर, एमबाप्पेले पीएसजीको प्रस्तावलाई अस्वीकार गरिसक्नुभएको छ । पाँच सिजन पीएसजीमा विताएका एमबाप्पे मेस्सीको आगमनपछि त्यति खुशी हुनुहुन्न । त्यसैले रियलले पीएसजीको चित्त बुझाएमा एम बाप्लेलाई यसै सिजन रियलजाने बाटो खुल्नेछ ।




















