बागलुङ:= नेपाल भित्रको नेपाल, झोलुङ्गे पुलहरुको जिल्ला, लगायत विभिन्न उप–नामले छुट्टै पहिचान बनाएको बागलुङको परिचय यतिमा मात्रै सीमित छैन । कला, संस्कृति र परम्परागत हिसाबले पनि बागलुङको पहिचानलाई थप उचाईमा पु¥याएको छ । तर, पछिल्लो समय जिल्लाका पृथक पहिचान लोप हुने अवस्थामा पुगेका छन् । बागलुङमा प्रचलित थुप्रै कला मध्येको बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।
बुट्टेनली बाँस, गजिङ, मालिङ, लेकाली भूङको काठमा हातले कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिन्छ । विशेषगरी यसमा विभिन्न देवि देवता, भगवान, व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, लगायत पौराणिक सांस्कृतिक झलक र प्राकृतिक सुन्दर्यलाई कलात्मक शैलीमा बनाइएको हुन्छ । बागलुङसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको माग र महत्व निकै भए पनि पछिल्लो समय यो लोप हुँदै गएको छ ।
बुट्टेनली बनाउने बुढापाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यो लोप हुँदै गएको बागलुङ निसीखोलाका ८९ वर्षीय नरविर घर्ती मगरले बताउनुभयो । अहिलेका नयाँ युवापुस्ताले बुट्टेनली बनाउन तर्फ चासो नदिँदा लोप हुँदै गएको उहाँको गुनासो छ । आफूहरुले अग्रजबाट सिकेको र आफूहरुबाट नयाँ पुस्ताले सिक्नै नचाहेको घर्तीको भनाई छ । ‘हाम्ले त हाम्रा पाका पुर्खाबाट सिकेका होे, बुट्टेनली मात्रै होइन, डोको नाम्लो, लगायत थुप्रै सामान बनाउने सीप पनि उहाँहरुले नै सिकाउनु भएको थियो, हामीले धेरै चासो देखाउने गथ्र्यौ, यस्ता चिजहरु बनाउन,’ घर्ती मगरले भन्नुभयो ‘अहिलेका मान्छे के भएका हुन्, खाली सहर बजार तिर मात्रै बस्न खोज्छन्, गाउँमा आएर काम गर्दैनन्, यस्ता बनाउन सिक्ने कुरा त झन् गर्दै गर्दैनन् ।’
अहिलेका पुस्तामा यस्ताखालका सिप सिक्ने इच्छा नहुँदा, बुट्टे नली बनाउनका लागि आवश्यक सामनहरु प्रर्याप्त नहुँदा लोपोन्मोख अवस्थामा पुगेको बताउनुहुन्छ । धेरैजसो पशुचौपाया पाल्नका लागि लेकहरुमा बस्ने र त्यहाँ प्रशस्त रुपमा गलिङ, मालिङ र भूङ (बुट्टेनली बनाउने काठ) पाइने हुँदा धेरै बनाउने गरेको र अहिले कच्चा पदार्थ समेत बिस्तारै हराउँदै गएका छन् ।
‘मेरो जीवनकालको अधिकांश समय मैले लेक बेसी गरेर बिताएँ, उतिबेला त गजिङ, मालिङ पनि प्रशस्त पाइन्थ्यो, बैंस जोवानमा खुब काम गर्न सिप सिक्न मन लाग्थ्यो, बुट्टेनलीहरु थुप्रै बनाइन्थ्यो, अहिले त आँखा पनि देख्न छोडियो, हात काँपेर बुट्टाहरु कोर्नै सक्दैन,’ उहाँले भन्नुभयो ‘यो त हाम्रो पहिचानसँग जोडिएको छ, तर के गर्नु ? अहिलेका युवाले सिकेनन्, पछि–पछि त यसको नाम पनि मेटिन्छ होला, निकै दुःख लाग्छ ।’
निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका सूर्यमान बुढा मगरले दुई वर्ष अगाडि सम्म गाउँमा प्रशस्त मात्रामा बुट्टेनलीहरु पाइने गरेकोमा बुढापाकाहरुले बनाउन छोडे पछि लोप हुन थालेको बताउनुभयो । अहिले गाउँमा भेट्याउनै मुस्किल हुने बताउनुहुन्छ । विशेषगरी यो विदेश र देशका ठूला सहरमा पुग्ने गरेको उहाँको भनाई छ ।
‘बाउबाजेबाट हामीले सिकिएन, बुढापाकाहरु गाउँमा हुँदासम्म प्रशस्त पाइन्थ्यो, अहिले त गाउँभरी खोज्दा पनि भेट्याउन मुस्किल हुन्छ,’ बुढाले भन्नुभयो ‘पहिले–पहिले कोही बाहिरी पाउना आउँदा, चिनो, कोसेलीको रुपमा दिने गरिन्थ्यो, देशमा मात्रै होइन विदेशमा समेत पुग्थे, अहिले बुट्टेनली लोप हुनुको कारण पुस्ता हस्तान्तरण नै नहुनु हो ।’
बुट्टेनलीले बागलुङलाई नेपालमा मात्रै होइन, विश्वमै पहिचान दिलाएको थियो । बागलुङमा आउने बाह्य तथा आन्तरिक पर्यटकले चिनो तथा कोसेलीका रुपमा यसलाई लिएर जाने गर्थे । पहिचान, व्यावसाय र संस्कारसँग जोडिएको बुट्टेनली लोप हुँदै जानु दुःखद विषय भएको स्थानीय बताउँछन् । यस्ताखालका पहिचान र कला संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकार र सरोकारवालाको पनि ध्यान नपुगेको उनीहरुको भनाई छ । अझै पनि स्थानीय पालिकाहरुले बुट्टेनली बनाउने कलाकारलाई प्रोहात्सान र नयाँ पुस्तालाई सिप हस्तान्तरण गराउन सके यस्ता लोपोन्मुख पहिचान, कला, सिप संस्कृतिको संरक्षण गर्न सकिनेछ ।
लापोन्मुख बुट्टेनली देखाउँदै बागलुङ निसीखोलाका एक युवा । तस्बिर : डम्मर बुढा मगर/हिमालय टाइम्स




















