काठमाडौँ:= अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।
सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्धार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।
यता परराष्ट्र मन्त्रालयले भने उद्धारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।





















