काठमाडौं:= नेकपा एमालेको विवाद लामो समयदेखि कचल्टिएको छ । ओली र नेपाल समूहले आ–आफ्नो किसिमले सांगठनिक गतिविधि चलाइरहे पनि वारपार लडाइँ हुन सकेको छैन । अर्कोतिर पार्टी मिलाउन प्रयास गरिरहेका दोस्रो तहका केही नेताहरू पनि दुवै समूहका अतिवादी प्रवृत्तिबाट निराश बनेको स्थिति छ । आन्तरिक विवादकै कारण एमालेको नेतृत्वमा रहेका संघीय सरकार र प्रदेशका दुई सरकार ढलिसकेका छन् । समग्रमा पार्टी विवाद तन्किँदै जाँदा नेकपा एमालेको क्षयीकरण रोकिन सकेको छैन ।
माधव समूहले सम्मानजनक रूपमा मात्र पार्टी एकता हुने अडान लिइसकेको छ । त्यसका लागि माधव नेपाललाई केपी ओलीको बराबर हैसियत दिलाउनुपर्ने अथवा पार्टीका महŒवपूर्ण निर्णय गर्दा दुवै नेताको सहमति अनिवार्य हुनुपर्ने प्रावधान राख्नुपर्ने शर्त राखिएको छ । अहिलेकै अवस्थामा केपी ओलीसँग मिल्न गए आफ्नो समूहलाई ओलीले प्रतिशोध लिने र चुनावमा टिकट दिँदा पूर्वाग्रह राख्ने यो समूहको ठहर छ । अर्कोतर्फ संस्थापन पक्षले भने महाधिवेशनमा पराजित माधव नेपाललाई कुनै हालतमा बराबर हैसियत दिन नसकिने धारणा राखिरहेको छ । यिनै अन्तरविरोधका कारण लामो समयदेखि एमालेको विवाद सुल्झिन सकेको छैन । अहिलेको स्थिति हेर्दा नेकपा एमाले मिल्न सक्ने ठाउँ साँघुरिँदै गएको छ । यद्यपि दुवै समूहले आफू एकताको पक्षमा रहेको रटान लगाउँदै अर्को समूहलाई दोषारोपण गर्न पनि छाडेका छैनन् ।
संस्थापन पक्ष पनि माधव समूूहसँग एकता हुन नसक्ने निष्कर्षमा पुगिसकेको छ । तर, पार्टी मिलाउन नसकेको आरोप लाग्ने डरले एकताको मुरली पनि बजाउन छाडेको छैन । त्यसैअनुसार सांगठनिक कामहरूलाई निरन्तरता दिन थालेको छ । माधव समूहबाट केही प्रभावशाली नेताहरू भिœयाउने दाउ संस्थापन पक्षले खोजेको देखिन्छ ।
उता माधव समूह पनि ओलीसँग पार्टी एकता हुन नसक्ने निक्र्योलमा पुगिसकेको देखिन्छ । उसले तत्काल अर्को पार्टी खोल्दा कानुनी रूपमा समस्या हुने भएको र पार्टीले कारबाही गर्दा सांसद पद गुम्ने डर देखेको छ । त्यसैगरी पार्टी एकताका लागि अनुदार हुँदा एकताको पक्षमा रहेका नेताहरू रुष्ट हुने भएकाले आवरणमा भए पनि एकताका लागि तयार रहेको भनिरहेको छ ।
साथै नयाँ अध्यादेश ल्याएर पार्टी फुटाउँदा सांसद पनि जोगिने भएकाले नेपाल समूहले एउटा विकल्प त्यसलाई पनि राखेको छ । नयाँ पार्टी खोल्ने मनसायले नै एमाले ब्युँतिएसँगै सो समूहले सांगठनिक कार्यलाई निरन्तरता दिइरहेको छ ।
ओली पार्टी एकताको पक्षमा देखिएनन् : नेपाल
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्षमा पुग्नुभएको छ । केही दिनयता आफ्ना नेताहरूसँगको छलफलमा उहाँले ओलीका पछिल्ला निर्णयले पार्टी एकताको संभावना लगभग टरेको निष्कर्ष सुनाउनुभएको छ । नेपाल समूहका एक केन्द्रीय सदस्यका अनुसार छलफलमा उहाँले ओलीको पछिल्लो निर्णयले पार्टी एकताको संभावना लगभग सकिएको बताउनुभएको हो । ‘हामीले १० बुँदे सहमतिलाई आधार मानेर सम्मानजनक एकता गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका थियौं तर ओलीले पार्टी एकताको पक्षमा देखिएनन् । अब एकताको संभावना क्षीण भयो’, उहाँले भन्नुभयो ।
एमालेको यही साउन २५ गते बसेको केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमा महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने र अरू पदाधिकारी मनोनित हुने उल्लेख छ । उक्त विषयमा नेता नेपालले गम्भीर आपत्ति जनाउनुभएको छ । ओलीले एकता नचाहेको र उनका निर्णयहरूले एकताको विषय अन्त्य गरेको नेता नेपालको भनाइ छ । अब एकताका लागि भनेर समय खर्चिनेभन्दा विद्रोह गर्ने मुडमा पुगेको ती सदस्यले बताउनुभयो । नेपालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, ‘एकताका लागि पर्खिएर समय खेर फाल्न हुँदैन । के गर्ने विषयमा छलफल गरौं । अब विद्रोह गर्नुको विकल्प बाँकी रहेन ।’
माधव नेपाल समूहले समानान्तर गतिविधिलाई भने निरन्तरता दिने भएको छ । छलफलमा सहभागी सांसद विरोध खतिवडा पनि नेता नेपालले आफ्नो हिसाबले हिँड्ने बताएको जानकारी दिनुभयो । ‘केपी ओलीसँगको लडाइँ जारी छ । हामी आफ्नो हिसाबले हिँड्छौं । उहाँको भनाइको निष्कर्ष यही हो,’ खतिवडाले भन्नुभयोे ।
नेता नेपालले अब स्थायी कमिटीमा सदस्यहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ । विघटित कार्यदलका सदस्यहरूले पार्टी एकता हुने दाबी गर्र्दै आएका छन् । माधव समूहको साउन २१ र २२ गते बसेको केन्द्रीय सदस्यहरूको बैठकमा विघटित कार्यदलका नेताहरूले सम्मानजनक एकता गराउने दाबी गरेका थिए । तर, ओली पक्षले नेता नेपाललाई समान हैसियतको अध्यक्ष बनाउन अस्वीकार गरिसकेको छ ।




















