दीपक-दीपाले नौ करोडमा बानेश्वरमा सिनेमा हल खोल्दै!

काठमाडौं := हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माण गरिरहेका छन् । आउँदो चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम भइरहेको दीपक बताउँछन् । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहने छन् ।

“दुई/दुईसय गरेर दुईवटा स्क्रिनमा चारसय सिट हुनेछन्,” दीपक बाह्रखरीसँग भन्छन्, “करिब ९ करोड लगानी हुने हाम्रो अनुमान छ ।” दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ ग्रुपको लगानी रहने । “सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना हो । पुरानो योजना अनुसार नै हल निर्माण गरिएको हो,” दीपक भन्छन्, “हामी यही क्षेत्रको मान्छे भएकाले चलचित्रबाट कमाएको पैसा पनि यही नै लगानी गरौं भन्ने थियो ।

हामी आफैंले हल बनाउँदा चलचित्रकर्मीलाई पनि थप सहज होला भन्ने अपेक्षा हो ।” निर्देशक समेत रहेकी कलाकार दीपाश्री सिनेमा हलहरु धमाधम बन्द भइरहेका बेला नयाँ हल खोल्दा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्छिन्। “चलचित्र क्षेत्रमा काम गरेका ले यही क्षेत्रलाई टेवा पुग्ने अर्को काम पनि गरौं भन्ने उद्देश्य पनि थियो,” दीपाश्री भन्छिन्, “त्यसैले हल खोल्ने योजना अनुसार अहिले धमाधम काम भइरहेको छ । अवस्था सहज भयो भने चैतबाट हल सञ्चालनमा ल्याउन सकिने छ ।”

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइ रहेको उनले जानकारी दिइन् । वितरक तथा प्रदर्शकले नेपालीलाई भन्दा बलिउड तथा हलिउड चल चित्रलाई महत्तो दिने गरेको दीपक–दीपा टिप्पणी गर्दै आएका छन् । को’रो ना संक्रमणको त्रासका कारण हालसम्म २८ वटा सिनेमा हल बन्द भइसकेका छन् । २८ सिनेमा हल बन्द हुँदा प्रति शो ७ हजार सिट घट्छन् ।