दुई महिनाअघि नै तीजको चटारो।

काठमाडौं := यस वर्षको तीज पर्व आउन दुईमहिना बाँकी छ । तर नेपाली गीतसंगीतको बजारमा भने तीज आइसकेको छ । अर्थात् कलाकारलाई पनि तीज लागिसकेको छ ।

यतिबेला कलाकारहरूले तीजमा गर्ने सबैकाम गरिसक्नुभयो, अर्थात् भाइहरूले दिदी लिन जाने । महिला दिदीबहिनीहरू माइत जाने, व्रत बस्नेलगायतका काम कलाकारहरूले दुई महिनाअघि नै गरिसक्नुभएको छ । प्रायःजसो अहिले रेकर्डिङ स्टुडियोमा तीज गीत रेकर्ड भइरहेका छन् । लोकगीतका अधिकांश कलाकार छायांकनमा व्यस्त हुनुहुन्छ । रातो सारीमा लरक्कै परेर महिला कलाकार छमछम नाचिरहको देखिन्छ ।

तीजमा विशेषगरी अत्यधिक सुनिने स्वर पशुपति शर्मा र खुमन अधिकारी, सम्झना भण्डारी, देवी घर्तीलगायतको हो । उहाँहरूले बनाएका यस वर्षका तीज गीत एक साताअघि नै सार्वजनिक भइसकेको छ भने अन्य गीत आउने क्रममा छन् । पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘काले ज्वाइँ साप’ बोलको गीत एक साताअघि नै सार्वजनिक भइसकेको छ।

उक्त गीतको भिडियो युट्युबमा एक सातामै पाँच लाखभन्दा बढी पटक हेरिएको छ । यस्तै पशुपति र सम्झनाकै स्वरमा रहेको ‘हैनर माया’बोलको गीत एक दिनअघिमात्रै सार्वजनिक भएको छ । उक्त गीतको भिडियो पशुपति शर्माको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ भने त्यसलाई झण्डै २ लाख पटक हेरिएको छ ।

यता लोकप्रिय गायक खुमन अधिकारी र गायिका शान्तिश्री परियारको स्वरमा रहेको ‘शिवजी पार्वती’ बोलको तीजगीत अहिले सामाजिक सञ्जाल तिर भाइरल नै भइसकेको छ । विशेष गरी टिकटक एप्समा निकै हेरिएको छ । यस्तै खुमन र पूर्णकला बिसीको स्वरमा रहेको ‘भो भो बनोल त्यो पर्दैन’ बोलको तीज गीत बिहीबारै सार्वजनिक भइसकेको छ । गायक खेम सेञ्चुरीका पनि केही तीज गीत सार्वजनिक भइसकेका छन् भने केही आउने क्रममा रहेको जानकारी दिनुभएको छ ।

कलाकारहरूले तीज आउन लामो समय बाँकी हुँदा जतिसक्दो छिटो भिडियो सार्वजनिक गर्न चाहेको देखिन्छ । अहिले पछिल्लो समय आम्दानीको स्रोत युट्युबमात्र रहेकाले जतिसक्दो छिटो सार्वजनिक गर्न चाहेको देखिन्छ । जति सक्दो छिटो भिडियो सार्वजनिक गरियो त्यो धेरै समयसम्म भिडियो हेरिने भएकाले भ्युज धेरै आउँछ र आम्दानी धेरै हुन्छ । यसैकारण कलाकारहरू तीज गीतको रेकर्ड र भिडियो छायांकनसँगै सार्वजनिक गर्ने चटारोमा रहेको देखिन्छ ।