काठमाडौं := वैदेशिक रोजगार बिभागको ताहचलस्थित श्रम कार्यालयले वैदेशिक रोजगारीमा जानेहरुको लागि अब नियमित रुपमा हरेक दिन सेवा प्रवाह गर्ने , श्रम स्वीकृति दिने जनाएको छ ।
कोरोनाका कारण जारी भएको निषेधाज्ञालाई मध्यनजर गर्दै यसअघि हप्तामा तीन दिन मात्र सेवा प्रवाह गर्दै आएको कार्यालय अब भने सधैं(सरकारी बिदा बाहेक) खुल्ला हुने भएको हो ।
कार्यालयले जारी गरेको एक सूचनाका अनुसार हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै यही असार २० गते आइतबारदेखि कार्यालय नियमित रुपमा सुचारु हुने छ ।

साथै, व्यक्तिगत श्रम स्वीकृतितर्फ बायोमेट्रिक भएका र अनलाईनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई भने अनलाईनबाटै श्रम स्वीकृति लिन आग्रह गरेको छ । सूचनामा बायोमेट्रिक नभएका र व्यक्ति स्वयम् उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरुलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन अनुरोध गरिएको छ ।




















