युएई (दुबई) मा अलपत्र नेपाली सुत्केरी महिलाको उद्धार।

युएई := गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आठ महिनाभन्दा बढी सेल्टरमा रहनुभएकी डोल्मा लामा (नाम परिवर्तन) लाई उद्धार गरेर स्वदेश फर्काएको छ । लामालाई बच्चासहित उद्धार गरेको हो । ८ फेब्रुअरी २०२० मा त्रिभुवन विमानस्थल हुँदै युएई पुग्नुभएकी लामा सेल्समा काम गर्नुहुन्थ्यो। डोल्मालाई विश्वास गरेको व्यक्तिले अलपत्र बनाएको हो ।

डोल्मा अचानक काममै भएको बेला बिरामी पर्नुभयो । उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो । यस्तो थाहा पाएपछि कम्पनीले कामबाट पनि निकालिदियो । घर फर्कन पनि नसक्ने र दुबईमा पनि बस्ने आधार नभएपछि अलपत्र पर्नुभएको थियो । हस्पिटलमा भर्ना हुनुभएकी डोल्माले जुम्ल्याहा बच्चा जन्माउनुभयो तर हस्पिटललाई तिर्ने पैसा थिएन । सोही क्रममा डोल्मा एनआरएनए युएइको सम्पर्कमा पुग्नुभयो । एनआरएनए युएइले डोल्माको राहत तथा उद्धारको पहलकदमी लियो ।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रिया पूरा गरेर २८ जुन २०२१ मा एनआरएनएले सकुशल स्वदेश फर्काएर परिवारको जिम्मा लगाएको एनआरएनएले जनाएको छ । उक्त कार्य एनआरएनए उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीसहितको टिम, काठमाडौं स्थित कार्यक्रमको टिम तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीलगायतले पहलकदमी लिएको एनआरएनएको भनाइ छ ।

आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका एनआरएनएको राहत तथा उद्धार कार्यक्रम युएईका संयोजक प्रविण पोखरेलका अनुसार बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्म दर्तालगायतका अन्य आवश्यक प्रक्रियामा समस्या भएको थियो भने अर्कोतर्फ आमाको पनि भिसा सकिएको थियो । हालसम्म एनआरएनएले नेपाल सरकार र दूतावाससँगको समन्वयमा १९ हजारभन्दा बढी नेपाली कामदारको उद्धार गरिएको जनाएको छ ।